२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा प्रथम विद्वत् धर्मसभा !



अ+ अ-

अमेरिका: विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न गरेको छ । उक्त धर्म सभामा वासुदेवशरणजी महाराज,स्वामी केशावाचार्यजी,स्वामी दामोदराचार्यजी,स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानाडाबाट स्वामीसुदर्शनाचार्यजी र डा. खेमप्रसाद नेपालको उपस्थिति रहेको थियो । यसका साथै आमेरिकाको १० वटाभन्दा बढि शहरहरूबाट १ सय भन्दा धेरै गुरु, पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

दीप प्रज्ज्वलनसँगै उपस्थित गुरुजनले स्वस्तिवाचन गरी सुरु गरिएको उक्त धर्मसभामा संस्थाका उपाध्यक्ष आचार्य श्रीखिम खतिवडाले स्वागत गर्नुभएको थियो । यसरी नै यस सभाको अध्यक्षता संस्थाका अध्यक्ष कमल धिमालले गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका बोर्ड चियर नारद अधिकारीले गर्नुभएको थियो । यस सभाका प्रमुख अतिथि समाजकै वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ (पशुपति) खनाल हुनुहुन्थ्यो ।

संस्थाको वैदिक निर्णायक समितिका संयोजक पं. श्रीहरि फुयालले यस धर्मसभाको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने अध्यक्ष श्रीकमल धिमालले हाम्रो विगत र वर्तमानमाथि चर्चा गर्दै विभिन्न चुनौति र अवसरहरूका विषयमा प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पार्नुभएको थियो ।

यसै क्रममा उहाँले विश्व भूटानी हिन्दू संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावि योजनाका सम्बन्धमा पनि प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पार्नुभएको थियो ।

पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहेका वैदिक धर्मावलम्बी नेपालीभाषी भूटानीहरू कसरी एक भएर हाम्रा धरोहर– भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विभिन्न स्थानहरूमा स्थापित मठमन्दिरहरूको संरक्षण र संवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मञ्चासीन सम्पूर्ण स्वामीहरू तथा विद्वज्जनले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उपस्थित विभिन्न विद्वज्जनद्वारा गरिएको लामो चर्चा–परिचर्चापछि उक्त धर्मसभाले निम्न निर्णयहरू गरेको छ ।

यस धर्मसभामा विभिन्न सम्प्रदायका स्वामीजी महाराजहरू, विद्वान् विदुषीहरू र यसका अनुयायीहरूले आ–आफ्नो सम्प्रदायको अस्तित्वलाई कायम राखी एकअर्कालाई सम्मान, सहयोग र सद्भावका साथ वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि एक भएर अघि बढ्ने निर्णय भएको छ ।

हाम्रो वैदिक सनातन धर्मका अनुयायीहरूका घर–घरमा, समाजमा र विभिन्न संगठनहरूमा उठेका प्रश्नहरू र धर्मअन्तर्गत छाएका अन्योलतालाई निकास दिनुका साथै देश, काल र परिस्थितिअनुरुप हाम्रा युवा पुस्तालाई धर्मको मर्म एवं भावनालाई बुझाउँदै र सिकाउँदै अघि जान विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले यस वैदिक विद्वत् धर्मसभाबाट पूर्णता पाएको छ ।
पं. हरि फुयालको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले भविष्यमा पनि यस्ता ऐतिहासिक धर्मसभालाई निरन्तरता दिने र समितिले आवश्यकता अनुसार समय–समयमा विद्वत् धर्मसभाको आयोजना गर्दै जाने भएको छ । समाजमा उठ्न सक्ने विभिन्न प्रश्न एवं जिज्ञासाहरूको समाधान गर्न शास्त्रीय प्रमाणसहित उपयुक्त पहल गर्ने सर्वसम्मतिले निर्णय गरेको छ ।

विश्व भूटानी हिन्दू संगठनले केही महिना अगाडि घोषणा गरेको २०२५ मा हुने विश्व शान्ति महायज्ञमा यस धर्मसभामा सम्पूर्ण उपस्थित स्वामी, महाराज, आचार्य, पण्डित एवं पुरोहितहरूको सहमति र सहयोग गर्ने र ऐतिहासिक यज्ञलाई सफल पार्ने निर्णय गरिएको छ । उक्त महायज्ञमा १०८ श्रीमद्भागवत महापुराण, चार वेद र अन्य विभिन्न धर्मग्रन्थहरूको समेत पाठपाराण तथा सङ्गीतमय कथ प्रवचन हुने भएको छ । यसै सामुहिक महायज्ञमा पञ्च कुण्डीय हवन, एक करोड दिप प्रज्ज्वलन र १०८ शङ्खनाद समेत गरिने निर्णय भएको छ ।

यस धर्मसभामा उपस्थित स्वामी केशावाचार्य, स्वामी दामोदराचार्य, श्रद्धेय स्वामी कृष्णप्रपन्न, स्वामी रामानुजाचार्य तथा क्यानाडाबाट स्वामी सुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दु संगठनले ‘धर्म–संवाहक’ उपाधिले अभिनन्दन गर्नुका साथै संस्थाको सम्मानार्थ सदस्यता समेत प्रदान गरेको छ ।

वासुदेवशरण महाराज, स्वामी वासुदेवाचार्य, स्वामी गोविन्दाचार्य, स्वामी भागवताचार्य, स्वामी कृष्ण प्याकुरेल, पण्डित शिवप्रसाद पोख्रेल, पण्डित महेश्वर रेग्मी, र वयोवृद्ध विद्वान् पं. श्रीपद्मनाभ खनाललाई यस अघि नै अभिनन्दनका साथ सम्मानार्थ सदस्यता प्रदान गरिएको कुरा संस्थाका अध्यक्षले जानकारी गराउनुभएको थियो ।

यसका साथै, २०१७ सालदेखी विश्व भूटानी हिन्दू संगठन अन्तर्गत वैदिक निर्णायक समिति र पञ्चाङ्ग निर्माण समितिसँग आबद्ध समाजका विद्वान् तथा विदुषीहरूले दिएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस धर्मसभामा सम्मान गरिएको थियो ।