२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या



अ+ अ-

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो । १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन । त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन् ।

सोही पालिकाको वडा नं. ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ । यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ ।  कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन् ।

राप्ती गाउँपालिका–८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन् ।  कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका प्रत्येक कोठा फोहर छन् । कोठामा धुलैधुलो छ । त्यही धुलोमा विद्यार्थीहरु बसिरहेका हुन्छन् । यहाँ पाँच सय २५ विद्यार्थी छन् । राप्ती गाउँपालिका–१ भलावाङ स्थित नेपाल राष्ट्रिय माविमा शौचालयमा पानी छैन । शौचालय दुर्गन्धले जानसक्ने अवस्था छैन । निर्माण भएको शौचालयको ढोका फुटेको छ । विद्यालयअगाडि राखिएको झन्डा च्यातिएर लत्रिएको अवस्थामा छ । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चार सय बढी विद्यार्थी छन् ।

यी त, दाङ राप्ती गाउँपालिकाभित्र रहेका केही सामुदायिक विद्यालयमा देखिएका बेथिति हुन् । अधिकांश सरकारी विद्यालयको समस्या उस्तै देखिन्छ । विद्यार्थी भर्नादर बढिरहे पनि विद्यालयले आफ्नो स–साना कुरा सुधारमा खासै ध्यान दिएको पाइँदैन तर पनि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर भने केही वर्षयता बढिरहेको छ । राप्ती–१ स्थित नेपाल राष्ट्रिय माविमा एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन् । यस विद्यालयमा गएको वर्ष तीन सय विद्यार्थी थिए ।

त्यस्तै, सर्वोदय माविमा यस वर्ष मात्रै दुई सय बढी नयाँ विद्यार्थी थपिएका छन्भने जनज्योति आधारभूत विद्यालयमा ५० बढी नयाँ विद्यार्थी थपिएका छन् । सामुदायिक विद्यालयप्रति विद्यार्थीको विश्वास घटेको छैन । दक्ष शिक्षक र सुरक्षित कक्षा कोठाजस्ता कुराले सामुदायिक विद्यालयहरु निजीभन्दा राम्रा छन् । स–साना कुराहरुलाई सुधार गरे सामुदायिक विद्यालयमा आकर्षण बढ्ने स्वयं विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । “पछिल्लो समय जति नयाँ भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्”, राष्ट्रिय माविका प्रधानाध्यापक लोकेन्द्र केसीले भन्नुभयो, “हामीले सामान्य कुरामा सुधार गर्दै गर्‍याँै भने सामुदायिक विद्यालयमा विद्यार्थी दर अझै बढ्ने देखिन्छ ।”

अधिकांश सामुदायिक विद्यालयमा ठूला–ठूला भवन पनि छन् । शौचालय, खानेपानीसहित आधारभूत कुराहरु पूरा भए पनि ती कुराको सही सदुपयोग हुन सकेको छैन । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरु एकजुट भएर लागेमा विद्यालय सफल हुने प्रधानाध्यापकहरुको धारणा छ । “विद्यालय व्यवस्थापन समितिले योजना बनाउने, प्रअसहित शिक्षकहरुले कार्यान्वयन गर्नुपर्छ”, जनज्योति आधारभूत विद्यालयका प्रअ कुलराज जैसीले भन्नुभयो, “त्यति गरेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन्छ ।” शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि भवन मात्रै महत्वपूर्ण कुरा नभई व्यवस्थापनको पाटो पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

दाङकै नमूनामध्येको एउटा विद्यालय हो–राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना मावि । यहाँ दुई हजार दुई सय विद्यार्थी छन् । कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै प्रत्येक कक्षामा ५० जना भन्दा बढी विद्यार्थी थपिएका छन् । ती सबै नजिकैको निजी विद्यालयबाट आएको प्रधानाध्यापक किरण पोख्रेलले बताउनुभयो । “अहिले धेरै विद्यार्थी नयाँ थपिएका छन्, यो वर्ष मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्”, उहाँले भन्नुभयो, “यो सामुदायिक विद्यालयका लागि सकारात्मक पक्ष हो ।”

यस विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढिरहेको उहाँको भनाइ छ । अङ्ग्रेजी माध्याममा प्रत्येक कक्षामा तीन वटासम्म सेक्सन रहेका छन्भने नेपाली माध्यममा दुईवटा सेक्सन रहेका छन् । प्रत्येक कक्षामा ५० जनासम्म विद्यार्थी राखिएको प्रअ पोख्रेलले बताउनुभयो । व्यवस्थापन राम्रो भएमा सामुदायिक विद्यालय निजीभन्दा अब्बल हुन सक्छन्, भन्ने उदाहरण दिन सकिने उहाँको भनाइ छ । “हाम्रो लगावको कुरा हो, उचित व्यवस्थापनको कुरा हो, अभिभावक र विद्यार्थीको पनि सहयोगको कुरा हो”, यी कुरा भएमा सामुदायिक विद्यालय पनि राम्रोसँग चल्न सक्छन् ।” कुनै पनि कक्षा खाली नगर्ने र विद्यार्थीलाई खेल्ने उचित वातावरण बनाउने हो भने विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।

यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सूचना प्रविधि (आइटी) विषय पनि पढाइ हुन्छ । त्यसले पनि विद्यार्थीको आकर्षण बढेको छ । सोही विद्यालयमा निजी स्रोतबाट विद्यालयले प्राविधिक शिक्षासहित ३० जना शिक्षक राखेको छभने १७ जनाको स्थायी दरबन्दी छ । त्यस्तै राप्ती गाउँपालिकाले १९ जना शिक्षक उपलब्ध गराएको छ ।

सामुदायिक विद्यालयले सुधारका कार्य पनि गरिरहेका छन् । विद्यालयमा किताबी ज्ञान मात्रै होइन, व्यावहारिक र बिक्ने शिक्षा आजको आवश्यकता हो । विद्यार्थीको शैक्षिक गुण्स्तर वृद्धि गर्न राप्ती–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालय शिशु कक्षासँगै नर्सरी कक्षा पनि चलाएको छ । विद्यार्थीको हेरचाह गर्नका लागि पालैपालो बिहान ९ बजे एकजना शिक्षक आउने व्यवस्था पनि मिलाउने तयारी गरेको छ । यसले विद्यार्थीको सुरक्षामा सहज हुने प्रधानाध्यापक कालुसिंह थापाले बताउनुभयो ।

त्यस्तै, सर्वोदय मावि सिसहनियाले पढाइलाई प्रविधिमैत्री बनाउन थालेको छ । विद्यालयमा अहिले तीनवटा प्रोजेक्टर छन्भने सातवटा ल्यापटप छन् । त्यसबाट पठनपाठन गराइरहेको प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताउनुभयो ।  भवन बन्नु मात्रै शैक्षिक गुणस्तरको सूचक नभएको बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बताउनुभयो । “सामुदायिक विद्यालयका भवन ठूला–ठूला छन् तर निजी विद्यालयका जस्तापाताले छाएका हुन्छन्, त्यहाँको बढाई राम्रो थियो”,उहाँले भन्नुभयो, “त्यसैले भवन बन्ने मात्रै भन्दा पनि स–साना कुरामा व्यवस्थापन गरे सामुदायिक विद्यालयको शैक्षिकस्तर धेरै माथि उठ्छ ।”

सामुदायिक विद्यालयमा दक्ष शिक्षक रहेको भन्दै ती शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे शैक्षिकस्तर धेरै माथि उठ्ने बताउनुभयो । धेरै ठूला समस्या छैनन्, स–साना कुराहरुलाई ख्याल गरे सुधार हुने देखिन्छ । अहिले पनि सामुदायिक विद्यालयहरुमा जाँदा धेरै कक्षाहरु खाली रहने गरेको भन्दै सबै कक्षामा पढाइ हुने अवस्था रहेमा मात्रै पनि धेरै कुरा सुधार हुने उहाँको भनाइ छ । धेरै सामुदायिक विद्यालयमा प्रअको नेतृत्व क्षमतामा नै समस्या देखिएको भन्दै प्रअ सक्रिय रहेमा विद्यालय सुधार हुने उहाँले बताउनुभयो ।

दाङको राप्ती गाउँपालिकाले विद्यालयमा देखिएका समस्या पहिचान गरी त्यसलाई सुधार गर्ने अभियानमा लागेको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । विद्यालय शिक्षाको गुणस्तरमा पालिकाले विशेष जोड दिएको बताउँदै उहाँँले भन्नुभयो, “अबको केही समयमा शिक्षक दरबन्दी मिलान गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “त्यसपछि जुन विद्यालयमा जे समस्या देखिन्छ, ती समस्या समाधान गर्ने अभियानमा छौँ ।”

अहिले पालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षकलगायतले सामुदायिक विद्यालयमै आफ्ना सन्तान पढाउन सुरु गरेका छन् । विस्तारै सर्वसाधारणमा पनि अब आफ्ना बालबालिकालाई सामुदायिक विद्यालय नै पढाउनु पर्दछ, यसका लागि आफूहरुले पनि ती विद्यालयको भौतिक, अध्ययन गर्ने वातावरण सुधारमा ध्यान दिनुपर्छ भन्ने भावनाको विकास भएको उहाँको भनाइ छ । राप्ती गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन् । रासस




भर्खरै