२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै हुनुहुन्थ्यो । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उहाँको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उहाँको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम हो—ब्याण्डबाजा बजाउने ।

उहाँमात्रै होइन सो शिविरका नौजना युवाले एक समूह बनाएर अहिले स्थानीयस्तरमा हुने विवाह र ब्रतबन्धमा ब्याण्डबाजा बजाएर जीविको चलाइरहेका छन् । “स्थानीयस्तरमा विवाह हुने तर ब्याण्डबाजा बजाउने मान्छे नपाएर टाढाटाढाबाट महङ्ग रकम तिरेर बोलाउनुपर्ने अवस्था थियो”, रानाले भन्नुभयो,“त्यो समस्या टार्न हामीले सीप सिक्यौ, पछि स्थानीय युवा मिलेर ब्याण्डबाजा बजाउने काम गरिरहेका छौँँ । त्यसबाट राम्रै आम्दानी भइरहेको छ ।” उहाँका अनुसार सो समूहले एउटा विवाहमा ब्याण्डबाजा बजाएबापत रु २० हजारदेखि ३० हजारसम्म ज्याला लिने गरेका छन् । प्रत्येक वर्ष सिजनमा औषतमा २० भन्दा बढी विवाहलगायतका समारोहमा बाजा बजाउने माग आउने गरेको छ ।

सोही समूहका अर्का सदस्य रामप्रवेश रानाले अहिले ब्याण्डबजा बजाएर जोहो गरेको आम्दानीले परिवारको लालनपालन र बच्चाहरूको पठनपाठनमा निकै सघाउ पुगेको बताउनुभयो । केही वर्षअघि हातमा सीप भए पनि पर्याप्त बाजा नहुँदा धेरैले आफ्नो समूहलाई काम नदिने गरेकामा स्थानीय तहले बाजा खरिदका लागि सहयोग गरेपछि अहिले भने भ्याइनभ्याइँ भएको उहाँको भनाइ छ । “पहिलो थोरै बाजा हुँदा धेरै माग आउँदैनथ्यो । वडा कार्यालयले बाजा उपलव्ध गराएपछि माग पनि बढेको छ र हाम्रो आम्दानी पनि”, रानाले भन्नुभयो ।

ब्याण्डबाजा बजाउने समूहका वीरा रानाले पनि ब्याण्डबाजा बजाउन थालेपछि आफ्नो परिवारका लागि हातमुखजोर्ने समस्या टर्दै गएको बताउनुभयो । वडा कार्यालयबाट बाजा पाएपछि त काम गर्न सहज हुनुका साथै माग धेरै आउन थालेकाले आम्दानी पनि बढ्न थालेको उहाँले बताउनुभयो । “रानाथारु समुदायमात्रै होइन पहाडीलगायतका गीत बाजामार्फत गाउन जान्ने र बाजागाजा पनि भएकाले अहिले धेरै ठाउँबाट माग आउन थालेको छ । त्यसैले विवाहको समयमा माग धौधौ हुने गरेको छ”, वीराले भन्नुभयो ।

छङ्गा राना बाजाको व्यवस्था गरिदिन वडा कार्यालयलाई माग गरेपछि सुनुवाइ भएकामा निकै खुसी हुनुहुन्छ । “बजाउने सीप भए पनि बाजा थिएनन् । त्यसैले माग पनि आउँथेन”, रानाले भन्नुभयो, “वडा कार्यालयले रु ५० हजारमा बाजा खरिद गरिदिएपछि हामी नौजनालाई नै सहज भएको छ ।”

वडा अध्यक्ष अर्जुन साउदले मुक्तकमैया युवालाई स्वरोजगार बनाउन आवश्यक रकमको व्यवस्था मिलाई बैण्डबाजा खरिद गरिएको बताउनुभयो । “गत वर्ष सालघारी मुक्तकमैया बस्तीका युवाका लागि वडाकै रकम खर्चेर बैण्डबाजा खरिद गर्यौंँ” उहाँले भन्नुभयो, “यस वर्षको बजेटबाट बाणिका मुक्तकमैया युवाका लागि बैण्डबाजा खरिद गरेका हौँ । यसपछि बंकका युवाको मागअनुसार पञ्चेबाजा उपलब्ध गराउने योजना छ ।”

हाल बाणी मुक्तकमैया शिविरका बैण्डबाजा बजाउने युवासँग ट्रम्पट, ओवाउ, ब्रास, सहनाई, तम्बुर, ड्रम, झुनझुनालगायतका बाजा छन् । विवाहको समयमा ब्याण्डबाजा बजाउने युवाहरूले अरु बेला कपाल काट्ने, राजमिस्त्री, किराना पसल, तरकारी खेतीलगायतका काम गरी आम्दानी गर्दै आएका रामनाथ रानाले बताउनुभयो । “विवाहको समयमा बाजा बजाएर आउने रकमले घरखर्च चल्ने गरेको छ” उहाँले भन्नुभयो, “अन्य व्यवसाय गरी आएको आम्दानी बैंक, समूह र सहकारीमा बचत गर्दै आएका छौँ ।”

बैण्डबाजा बजाउने कार्य भने ति युवाले घरमै अभ्यास गरेर सिकेका हुन । “सुरूमा अरुले बजाएको देखेर हामीले सिकेको थियौँ, त्यसपछि भारतीय बजारबाट बाजा खरिद गरेर घरमै अभ्यास गर्यौँ । आखिर इच्छाशक्ति भयो भने त हुँदो रहेछ नि!”, रामप्रसादले रासससँग भन्नुभयो ।

धेरै युवाहरूले काम पाइएन भनेर गुनासो गरिरहेका हुन्छन् । पहिलेदेखि नै बाजा बजाने काम गर्दै आएका कतिपय समुदायका युवाहरूसमेत यो पेशाबाट पलाएन भइरहेका छन् तर यहाँका मुक्तकमैया युवाहरू भने ब्याण्डबाजा बजाएर राम्रो आम्दानी गरिरहेका छन् । यस कार्यको यहाँ निकै प्रशंसा भइरहेको छ ।




भर्खरै