२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा



अ+ अ-

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् ।

केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि समस्या भइरहेको स्थानीय किसानको गुनासो छ । पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायत स्थानमा विगतका भन्दा बाँदर आतंक बढेको छ

पोखरा महानगरपालिकाको वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दु:ख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउनुुहुन्छ । “फाँटतिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्”, उहाँले भन्नुभयो, “राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।”

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । आँफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनुुभयो । “खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागतीखेती गर्न थालेका छौँ ।”

कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको एक सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेका छन् । त्यहाँ तीन वर्षयता तीन हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये दुई हजार सात सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म रु ५० लाखभन्दा बढी लगानी भइसकेको छ । “हामीले सुरूका वर्षमा लगाएका एक हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष दुई हजार सङ्ख्यामा कागतीका बिरुवा लगाएका हौँ”, अधिकारीले भन्नुभयो, “यस वर्ष थप एक हजार पाँच सयदेखि दुई हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।”

सो समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका सात तालमध्येको एक खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताउनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उहाँको बुझाइ छ ।

महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुहुन्छ । कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उहाँले बताउनुुभयो । “कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरूरी छ”, उहाँले भन्नुभयो । रासस




भर्खरै