२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा



अ+ अ-

वेदकोट । पिठ्यूँको ढोको घरायसी समानले भरिभराउ छ । बाल्टिन र पानी भरिएका केही बोतल त्यसमै छन् । अत्यधिक गर्मीले असिनपसिन । ४९ वर्षीया कृष्णा जोशी कञ्चनपुरको वेदकोट नगरपालिका–८ स्थित रौटेलामा यस्तै अवस्थामा भेटिनुभयो ।

उहाँ डडेल्धुराको परशुराम नगरपालिका–७ मलासबाट कुलुम र अम्रिसोको झाडु बिक्रीका लागि उहाँ महेन्द्रनगर झर्नुभएको हो । उक्त सामान बिक्री गरेर जम्मा भएको रकमले दैनिक उपभोग्य घरायसी समान किनेर घर फर्किने उहाँको योजना छ । “कुलुम र झाडु बिक्री गरेर रु दुई हजार कमाइयो । त्यो पैसाले नुन, तेल, सोडा, साबुन किनेर घर फर्किदैँ छु”, उहाँ भन्नुहुन्छ, “गाउँमा खानेपानीको सुविधा छैन । पानी ल्याउन एक घण्टा हिँड्नुपर्छ । त्यसैले यतैबाट पानी भरेर लैजाँदैछुँ ।” उहाँले कुलुम प्रतिकिलोग्राम रु ८० देखि एक सयका दरले बिक्री हुने गरेको जानकारी दिनुभयो ।

यस्तै अम्रिसोबाट तयार गरिएको झाडु रु ६० का दरले बिक्री हुने गरेको कृष्णाले बताउनुभयो । मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै छ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपले विकट यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्दछन् ।

खानेपानी, विद्युत्, यातायतको सुविधाबाट वञ्चित मलासवासीका लागि यहाँ कुनै ठूला पसल पनि छैनन् । त्यसैले स्थानीय उत्पादन बिक्री गरेर दैनिक उपभोग्य समानको जोहो गरेर लैजाने गरेको मलासकी चन्द्रा धामीले बताउनुभयो । “गाडी चल्ने बाटो छैन । चुरेको उकालो डाँडा छिचोलेर महेन्द्रनगर पुग्न घण्टौ पैदल हिँड्नुपर्छ,” उहाँले भन्नुभयो, “सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा ल्याइएको खानेपानी तीन वर्षमात्रै चल्यो । अहिले बिग्रिएपछि एक घण्टा पैदल हिँडेर घट्टे खोलाको पानी पिउनुपर्ने बाध्यता छ ।”

परशुराम नगरपालिकको केन्द्र मानिएको जोगबुढा आउजाउ गर्न तीन दिन लाग्ने गरेको मलासकै ७५ वर्षीय रामबहादुर पुन मगर बताउनुहुन्छ । उहाँ जोगबुढा आउजाउ गर्न धेरै समय लाग्ने हुनाले महेन्द्रनगरको राष्ट्रिय वाणिज्य बैंकबाट वृद्धभत्ता बुझ्ने गर्नुहुन्छ । “गाउँनजिक बैंक छैन । जोगबुढा आउजाउ गर्न तीन दिन लाग्छ । त्यसैले पायक पर्ने महेन्द्रनगरबाट भत्ता बुझ्ने व्यवस्था मिलाइएको छ । बसोबास गरेदेखि अहिलेसम्म सडक, बिजुली देख्न पाएका छैनौँ । अभावै अभावमा जीवन गुजार्‍यौँ । अब हाम्रा सन्तानले पनि यस्तो अभाव झेल्नु नपरोस्”, उहाँले आग्रह गर्दै भन्नुभयो । रासस