२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले गुमाउँदै छ आज साढे ६ वर्षपछि मधेसको नेतृत्व



मधेशका मुख्यमन्त्री सरोजकुमार यादव ।
अ+ अ-

काठमाडौैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार आज ढल्ने निश्चित प्राय: देखिएको छ । मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मतको प्रस्ताव गर्दैछन् । तर उनले बहुमत सदस्यबाट विश्वासको मत पाउने सम्भावना न्यून छ । २०७४ मंसिरको चुनावपछि लगातार मधेश सरकारमा रहेको जसपा नेपालले पहिलो पटक मधेश प्रदेशमा बहुमत गुमाउने भएको हो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गत वैशाख ३० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर विश्वासको मत लिने अघिल्लो दिन हिजो मात्रै नेकपा एकीकृत समाजवादीले पनि सरकार छाड्ने निर्णय गरेपछि उनी थप अप्ठ्यारोमा परेका हुन् ।

एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले हिजो मुख्यमन्त्रीको सचिवालयमा राजीनामा बुझाएका थिए । योसँगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएका छन् ।

अब मधेशमा नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकार गठन गर्ने तयारी गरेका छन् । एमाले, जनमत र माओवादी केन्द्रबीच यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भइसकेको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका सभामुखसहित २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ८ र एकीकृत समाजवादीका ७ जना प्रदेशसभा सदस्य छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी भएको हो ।

२०७९ साल मंसिर ४ गते भएको चुनावपछि मुख्यमन्त्री चुनिएका यादव डेढ वर्ष अवधिमा गठबन्धन फेरबदलका बाबजुद उनी सुरक्षित थिए । तर, गत वैशाख २३ मा केन्द्रीय गठबन्धनमा रहेको १२ सिटको जसपा अशोक राईसहितले ७ सांसदले फुटाएपछि कमजोर बन्यो । त्यस लगत्तै मधेशमा नयाँ सरकार बनाउन एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारबाट बाहिरिँदै जनमत, लोसपा सम्मिलित नयाँ सरकार बनाउने अभ्यासमा लागे ।

केन्द्रमा पाँच सिट मात्र बाँकी रहेको जसपा नेपाल सरकारबाट बाहिरियो । र उसले हरसम्भव मधेशमा रहेको आफ्नो सरकार बचाउन लागिरहे । एकीकृत समाजवादी मधेश सरकारमै यथावत, काँग्रेसले विश्वासको मत दिने संकेत र लोसपाले सहयोग गर्ने आशासहित सरकार बच्नेमा जसपा ढुक्क जस्तै थियो । तर, विश्वासको मत लिने पूर्वसन्ध्यामा एकीकृत समाजवादीले साथ छाडेपछि विपक्षमा बहुमत पुगेको छ ।

अब जनमत संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने निश्चित छ । उनी जसपाकै सरकारमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।

गठबन्धन दलहरुले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीसमेत गरेका छन् ।

मधेश प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा लालबाबु राउत मुख्यमन्त्री रहे । गठबन्धन फेरबदल र पार्टीको टुटफुट ब्यहोरेपनि मुख्यमन्त्रीबाट लालबाबु हट्नु परेन । त्यस बेला २९ सिटसहित उपेन्द्र यादवको संघीय समाजवादी फोरम मधेशको ठूलो पार्टी बनेको थियो । २५ सिटको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दोस्रो ठूलो दल थियो । दुई दलबीच एकता भयो र पछि पुन: विभाजन पनि भयो । विभाजन हुँदा उपेन्द्र यादव नेतृत्वको जसपासँग ३९ सांसद थिए ।