२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नि:शुल्क उपचार पाए पनि विकलाल परिवारका दु:ख हटेनन्



अ+ अ-

चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले नि:शुल्क उपचार पाए पनि परिवारका दु:ख भने हटेका छैनन् ।

गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालले नि:शुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दु:ख बढेको उहाँका बुबा रामबहादुर थिङले बताउनुभयो ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्नुभएको थियो । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उहाँलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो । अस्पतालले दुई महिना २५ दिन लगाएर रु आठ लाख बढीको उपचार नि:शुल्क गरेको गरिदियो । अहिले उहाँ सामान्य हिँङ्डुल गर्न सक्ने हुनुभएको छ ।

थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भन्नुभयो, “हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।”

चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी रु सात लाख ४६ हजार १७० र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी रु। आठ लाख ७१ हजार ४६८ तिर्नुपर्नेमा सबै नि:शुल्क गरिएको जानकारी दिनुभयो । थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च नि:शुल्क गरेको देवकोटाले बताउनुभयो । “आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार नि:शुल्क गरेका छौँ”, देवकोटाले भन्नुभयो ।

दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भन्नुभयो “हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।”

रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्नुहुन्छ । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन ।

विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उहाँ पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।रासस