बागलुङ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई शुक्रबार गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ ।
नेपालकै प्रतिष्ठित उद्योगी ढकाललाई साविकको धौलागिरी अञ्चलकै सबैभन्दा पुरानो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालयले आज बागलुङ बजारमा आयोजित एक भव्य कार्यक्रममा सम्मान गरेको हो । उहाँलाई सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभएको हो ।
उहाँ बागलुङ जिल्लाको अमलाचौरमा जन्मिनुभएको हो । सम्मान कार्यक्रममा बोल्दै ढकालले जिल्लाको यस प्रतिष्ठित विद्यालयद्वारा गरिएको सम्मानबाट आफू निकै खुशी भएको बताउनुभयाे ।
उहाँले विद्यामन्दिर विद्यालयको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । ढकालले सामुदायिक विद्यालयको सुधारका लागि आफूले धेरै स्थानमा सहयोग गरेको पनि सो अवसरमा बताउनुभयो ।
“सामुदायिक विद्यालय सुधार गर्न सके धेरै सक्षम जनशक्ति उत्पादन गर्न सकिन्छ,” ढकालले भन्नुभयो “विद्यालयको गुणस्तर सुधारका लागि निजी क्षेत्रले समेत योगदान गर्न आवश्यक छ, निजी क्षेत्रमा लागेका धेरै व्यक्तिहरु सामुदायिक विद्यालयका उत्पादन भएकाले योगदानको कदर गर्न आवश्यक हुन्छ ।”
विद्यालयको पूर्वाधारले मात्रै विद्यार्थीको गुणस्तरमा वृद्धि नगर्ने भन्दै पूर्वाधारमा हामी सहयोग गर्छौं, गुणस्तर विद्यालयले बढाउनु पर्छ, उहाँले भन्नुभयाे । ढकालले विद्यालयले गरेको सम्मानप्रति आफू निकै ऋणी रहेको पनि बताउनुभएको थियो ।
सो सम्मान समारोहमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले देशमा उद्यमशीलताको प्रवर्द्धन गर्ने तथा हाम्रो जिल्लालाई नेपाल र बाहिरसमेत चिनाउने चन्द्र ढकालजस्तो व्यक्ति यस बागलुङ जिल्लाले पाउनु निकै शाैभाग्यको कुरा हो भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बागलुङमा जन्मेर निजी क्षेत्रकाे सबैभन्दा ठूलाे संस्थाकाे नेतृत्वदायी भूमिकामा पुग्नु सामान्य कुरा नभएको भन्दै विद्यालयलाई निरन्तर सहयोग तथा सद्भाव राख्ने ढकाललाई सम्मान गर्न पाउँदा विद्यालय परिवारले गर्व महशुस गरेकाे बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएका चन्द्रप्रसाद ढकाललाई विद्यालयले सम्मान गरेको हो ।
ढकालले विद्यालयको पुनःनिर्माणका लागि रु १२ लाख ५० हजार समेत सहयोग गरिसक्नुभएको विद्यालयले जनाएको छ । विद्यालयलाई आवश्यक परे थप सहयोग गर्ने उहाँले बताउनुभयो ।












