काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्षले आज छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।
ओली पक्षको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइए पनि सुरु हुन सकेको छैन । प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ ।
सोमबार समानान्तर संसदीय दलको बैठक बोलाएर विभाजनको पूर्वअभ्यास गरिसकेका उनीहरुले आज केन्द्रीय कमिटीको अलग–अलग बैठक बोलाएर त्यसलाई औपचारिकता दिने तयारी गरेका छन् । दुवै पक्षले केन्द्रीय समितिको बैठकबाट एकअर्का अध्यक्षलाई कारबाही गर्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।












