३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा फुटको मुखमा, एक अर्कालाई कारबाही गर्न दुई अध्यक्षका समानान्तर बैठक



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा, पार्टी एकताको करिब साढे दुई वर्षपछि आज औपचारिक फुटको संघारमा पुगेको छ । यसका लागि आज पार्टीका दुवै जना अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई समयमा दुई स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । यी बैठकमा यी दुवैले एकले अर्कालाई कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने योजना बनाएका छन् । यदि अहिले उनीहरुको योजना अनुसार नै  आजका यी दुवै बैठक अघि बढे भने नेकपा आज औपचारिक रुपमा विभाजन हुने छ । 

नेकपाका अध्यक्ष केपी ओलीले आज बिहान ९ बजे बालुवाटारमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् । सो बैठकमा उनले पार्टीका अर्का अध्यक्ष प्रचण्डमाथि कारबाही गर्ने योजना छ । उनले प्रचण्डलाई आफ्नो पार्टीका प्रधानमन्त्रीका विरुद्धमा अविश्वासका प्रस्ताव ल्याएको भन्ने निहुँमा कारबाही गर्ने छन् । उनले पार्टीमा नेतृत्वका विरुद्ध अनर्गल प्रचार गरेको, पार्टीमा बैठकको दस्ताबेजका रुपमा गालीगलौज पत्र ल्याएको र विपक्षीसँग मिलेर आफू विरुद्ध आन्दोलनमा लागेको भन्ने नाममा प्रचण्डमाथि अनुशासनको कारबाही गरेर पार्टीबाट निष्कासन गर्ने योजना बनाएका छन् । 

उता अर्का अध्यक्ष प्रचण्ड र उनीहरुको समूहमा रहेका माधव नेपाल सहितको समूहले पनि पार्टी अध्यक्ष ओलीविरुद्ध कारबहीको प्रक्रिया अघि बढाउने भएका छन् । प्रचण्डले विहान सिंहदरबारमा संसदीय दलको बैठक बोलाएका छन् । सो बैठकमा उनीहरुले पार्टीको संसदीय दलको नेतामा ओलीलाई हटाएर प्रचण्डलाई नियुक्त गर्नेछ । यसो हुँदा पनि पार्टी औपचारिक विभाजनको संघारमा जानेछ । 

त्यसैगरी प्रचण्डले आज नै दिउँसो बानेश्वरस्थित कार्की ब्यांक्वेटमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । त्यसबाट पनि उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने तय गरेका छन् । दाहाल नेपाल यो समूहले प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीसँग परामर्श नै नगरी संसद विघटन गरेको भनेर कारबाही गर्ने योजना बनाएको छ । साथै पार्टीका विरुद्धमा विभिन्न जनवर्गीय संगठनलाई उचालेर विभाजनको रेख कोरेको भन्ने आरोप पनि उनीहरुको ओलीमाथि छ ।  

यदि यी योजनाअनरुप काम भए भने ती दुवैको एक अर्काले कारबाही गरेका पार्टी निर्णयहरु निर्वाचन आयोगमा जानेछन् । र आयोगले नै पार्टीको फुटको वैधानिकताको बारेमा निर्णय दिनेछ ।