काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४६औँ दीक्षान्त समारोहमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसबाट २०७४ सालको स्नातकोत्तर तहको पत्रकारिता विषयमा सर्वोकृष्ट अङ्कका साथ सर्वप्रथम हुनुभएका राष्ट्रिय समाचार समिति (रासस) का उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारीले दुई वटा पदक पाउनुभएको छ । उहाँले त्रिवि दीक्षान्त पदक र नारायण शान्ति मिश्र पदक पाउनु भएको हो ।
त्यस्तै त्रिविको ४६औँ दीक्षान्त समारोहमा चान्सलर पदक लिलाप्रसाद बगालेले प्राप्त गर्नुभएको छ । मूल समारोह समितिका सदस्यसचिव डा घनश्याम ठाकुरले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह परीक्षामा प्रथम श्रेणीमा प्रथम हुने बगालेलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो । बगालेले ४।० सिजिपिए प्राप्त गर्नुभएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का सहनियन्त्रकसमेत रहनुभएका ठाकुरले समारोहमा विभिन्न ३१ वटा पदक र पुरस्कार प्रदान गर्ने बताउनुभयो । बगालेले चान्सलरसहित त्रिवि प्राध्यापक सङ्घ स्वर्ग पदक र रामप्रसाद मानन्धर स्वर्ग पदकसमेत पाउनुभएको छ । इन्द्रभक्त श्रेष्ठ स्वर्ग पदक स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत एमबिए तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने प्रतीक्षा रिजालले प्राप्त गर्नुभएको छ । उहाँले ३।९२ अङ्क प्राप्त गर्नुभएको छ ।
यस्तै अङ्ग्रेजी केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट ३।९४ अङ्क ल्याउनुभएका स्वर्णिमराज लम्सालले नरेन्द्रमणि आचार्य दीक्षित स्वर्ण पदक र मोहनप्रसाद लाखे स्वर्ण पदक पाउनुभएको छ । उहाँले ती पदक अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहमा सर्वप्रथम भए बापत प्राप्त गर्नुभएको हो । यसैगरी अर्थशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पसमा अध्ययनरत नरेन्द्रराज पनेरुले तारापद चौधरी पदक, खगेन्द्रमानसिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाउनुभएको छ । उहाँले स्नातकोत्तर तहमा अर्थशास्त्र विषयमा ३।८५ सिजिपिए ल्याई सर्वप्रथम हुनुभएको थियो ।
यसैगरी रसायनशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमएस्सी) मा सर्वप्रथम हुनुभएका रामलाल भुसालले अमृत पदक र पिएम सिंह पदक पाउनुभएको छ । समारोहमा व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरबाट स्नातकोत्तर तह (एमबिएस) परीक्षामा सर्वप्रथम हुनुभएका पूजा भट्टराईले नेपाल बैंक लिमिटेड खरदार गुञ्जमानसिं स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार पाउनुभएको छ ।
यस्तै राजनीतिशास्त्र केन्द्रीय विभाग, केन्द्रीय क्याम्पस कीर्तिपुरबाट राजनीतिशास्त्रमा एमए गर्नुभएका चक्र बमले ललित चन्द पदक र बडाकाजी मरिचमानसिंह पदक पाउनुभएको छ ।
२०० मात्र सहभागी
कोभिड–१९ को कारणले यस वर्ष दीक्षित हुने सीमित विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने समारोह समितिका सदस्यसचिव डा ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार समारोहमा पदक पाउने, विद्यावारिधि र एमफिलका दीक्षित हुने र अन्य अतिथि गरी करिब २०० जनालाई मात्र सहभागी गराइने छ । सधैँ पुल्चोकस्थित पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुँदै आएको दीक्षान्त समारोह यसपटक भने बल्खुस्थित पनिका कार्यालयको प्राङ्गणमा हुनेभएको छ ।
दीक्षान्त समारोहमा ५८औँ ग्रेडलिस्टका ५६ हजार ७१३ जना सहभागी हुने पाउने व्यवस्था भए पनि कोभिड–१९ को कारणले दीक्षित हुने विद्यार्थी अघिल्लो वर्षको तुलनामा घटेका छन् । यस वर्ष सात हजार ८७ जना विद्यार्थी दीक्षित हुँदैछन् । गत वर्ष करिब १० हजार विद्यार्थी समारोहमा सहभागी भएका थिए । समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म उत्तीर्ण भई ट्रान्सक्रिप्ट दिएका स्नातक, स्नातकोत्तर तह, एमफिल र विद्यावारिधि गरेका विद्यार्थी सहभागी हुने छन् । समारोह पुस ६ गते हुँदैछ ।












