८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था – प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताउनुभयो । उहाँले सरकार लोकतन्त्रका मूल्य मान्यता, देश र जनता प्रति समर्पित भएर सुशासनका निम्ति निरन्तर लागिरहने बताउनुभयो । ‘संविधानको रक्षा र परिपालनमा सरकारका तर्फबाट कुनै कमी कमजोरी रहँदैन’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले कसैको पनि लोकतन्त्र प्रति मतमतान्तर नभएको बताउनुभयो । उहाँले त्यही हिसाबले देश अघि बढ्ने बताउनुभयो ।

अहिले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्ति देखिएको बताउँदै उहाँले गन्तव्य के हो भन्ने स्पष्ट दृष्टिकोण नभएकाहरू यसको विरुद्ध लागेका बताउनुभयो ।

सामाजिक, नैतिकता र इमानको बन्धनको बेवास्ता गरेर चल्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले यसबाट देशलाई मुक्त बनाउनु पर्ने बताउनुभयो । ‘समाजलाई विभिन्न ढङ्गले भड्काउन खोजिएको छ’, उहाँले भन्नुभयो ।

केही कमजोरीलाई देखाएर समाजलाई भड्काउने प्रयास भएको भन्दै उहाँले सरकार यस मामलामा सजग भएको बताउनुभयो ।

बलिदान र संघर्षले यो व्यवस्था प्राप्त भएकोले यसलाई ख्याल ख्याल नगर्न ओलीले चेतावनी दिनुभयो । ‘धेरै जनताको रगत बगेको छ, एक जना, दुई जनाको होइन, धेरैको जीवन गएको छ’, ओलीले भन्नुभयो ।

अन्य शक्ति केही समयको लागि देखिन सक्ने भए पनि तिनीहरू दिगो नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘दिगो भनेको लोकतन्त्र मात्रै हो, टिकाउ भनेको लोकतन्त्र मात्रै हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधान संशोधन प्रतिगमनको लागि हुन्छ भन्ने कुरा सोच्न पनि नसकिने ओलीले बताउनुभयो । लोकतान्त्रिक शासन प्रणाली मिचेर जाने ठाउँ काहीँ पनि नभएको उहाँले बताउनुभयो ।

तानासाहका विरुद्ध आफूहरू लडेर आएकोले सुशासन र विकासका काम, लोकतन्त्र र समावेशितालाई अझ प्रभाकारी बनाउन संविधान संशोधन गर्न सकिने उहाँले बताउनुभयो । संविधान देश, जनता, सुशासन र समृद्धिका लागि चाहिएकोले त्यही अनुरूप संविधान संशोधन हुने उहाँले बताउनुभयो । ‘संविधान असंशोधनधनिय दस्ताबेज होइन, संशोधनीय दस्ताबेज हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संविधानको सर्वस्विकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिने उहाँले बताउनुभयो । संविधान संशोधन व्यापक छलफल गरेर मात्र गरिने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो । संविधान प्रति सबैलाई माया भएको सबैले मिलेर परिमार्जन र संशोधन गर्ने ओलीले बताउनुभयो ।

समाजमा सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गरी केही ट्रेन चलेकाले त्यसलाई रोक्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । समाजलाई गाइड गर्नुपर्ने सांसदहरूले नै सामाजिक मूल्य मान्यता विपरीत बोल्ने र व्यवहार गर्ने हो भने समाजमा भएका गतिविधि विरुद्ध बोल्ने ठाउँ नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।