कैलाली। कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या प्रकरणमा पक्राउ परेका ८ जनालाई कारागार चलान गरिएको छ । मङ्गलबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गराएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।
प्रहरी हत्यामा संलग्नहरुः
धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना ।
गत कात्तिक १ गते प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए। कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल–भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो । पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
यता हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी भने धरौटीमा छुटेका छन्। उनी मङ्गलबार १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।












