२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहरमा पनि रेमिट्यान्स साढे १२ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौँ । कोभिड–१९ को कारण ठूलो परिमाणले रेमिट्यान्स घट्ने प्रक्षेपण गरिएको भए पनि चालु आर्थिक वर्षको तीन महिनासम्म त्यसको असर देखिएको छैन । बुधबार सार्वजनिक राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असोजसम्म रेमिट्यान्स साढे १२ प्रतिशतले बढेको देखाएको छ । गत साउनमा रेमिट्यान्स २३ प्रतिशत र भदौमा ८ प्रतिशतले बढेको थियो । प्रतिवेदनका अनुसार रोजगारीका लागि विदेशिएका नेपालीले गत असोजसम्म २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पठाएका छन् । गत आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स ५।१ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ८६ करोड रुपैयाँ मुलुक भित्रिएको थियो ।

‘सो अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले बढेर २ अर्ब १८ करोड पुगेको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो ।’ गत साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब र असोजमा ९३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । साउनको तुलनामा भदौमा रेमिट्यान्स केही घटे पनि असोजमा बढेको छ । यसले पनि रेमिट्यान्समा कोभिड–१९ को असर नपरेको पुष्टि हुन्छ ।

नेपालमा लकडाउन सुरु भएको महिना गत चैतमा ३४ अर्ब रुपैयाँ रेमिट्यान्स आयो । यसलाई कोभिड–१९ को असरसँग जोडेर हेरियो । किनकि गत फागुनमा करिब ७९ अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । तर, त्यसपछिका महिनामा रेमिट्यान्स बढ्न थाल्यो । जसअनुसार वैशाखमा ५३ अर्ब, जेठमा ९४ अर्ब र असारमा १ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो । तेल उत्पादन गर्ने राष्ट्र र खाडी मुलुकको अर्थतन्त्रमा अपेक्षित रूपले गिरावट नआएको, तुलनात्मक रूपमा ती राष्ट्रका उत्पादनमूलक क्षेत्रमा कोभिडको असर कम देखिएकाले नेपाल भित्रिने रेमिट्यान्स न्यून प्रभावित भएको राष्ट्र बैंकले बताउँदै आएको छ । ‘दसैं र तिहारको कारणले पनि गत असोजमा रेमिट्यान्स बढेको देखिन्छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘लकडाउनका कारण विदेशबाट जिन्सी आउन कम भएको छ । यसको सकारात्मक प्रभाव रेमिट्यान्समा देखियो ।’

तरकारीको मूल्य २३ प्रतिशतले बढ्यो

वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर गत असोजमा ३.७९ प्रतिशत छ । गत आवको असोजको तुलनामा चालु आवको सोही अवधिको मूल्य वृद्धिदर २.४२ प्रतिशत विन्दुले कम हो । गत आवको असोजमा यस्तो मूल्य वृद्धिदर ६.२१ प्रतिशत थियो । गत असोजमा मूल्यवृद्धिदर कम देखिए पनि खाद्य तथा पेय समूह, तरकारी, दाललगायतको मूल्य वृद्धिदर उच्च रहेको प्रतिवेदनले देखाएको छ । ‘गत असोजमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.४६ प्रतिशत छ,’ प्रतिवेदनमा उल्लेख छ । ०७६ असोजको तुलनामा गत असोजमा तरकारी उपसमूहको मूल्यवृद्धि २३.१० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि १३.८६ प्रतिशत छ । तरकारी तथा दालजन्य वस्तुको मूल्य बढे पनि अन्य धेरै वस्तुको मूल्य घटेकाले समग्र मूल्य वृद्धिदर कम देखिएको बताइएको छ ।

चालु आय र व्ययको हिसाब देखाउने चालु खाता गत असोजमा करिब ३४ अर्ब ३६ करोड रुपैयाँले बचतमा छ । ०७३ मंसिरयता गत साउनदेखि यो खाता बचतमा रहेको हो । गत वर्षको असोजमा २२ अर्ब ४७ करोडले घाटामा थियो । ०७३ मंसिरयता गत असारसम्म यो खाता निरन्तर घाटामा थियो ।

१ खर्बले शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्र (शोधानान्तर १ खर्ब १ अर्ब ९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १४ अर्ब ३४ करोडले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो आर्थिक वर्षको असोजमा १२ करोड ७८ लाखले बचतमा रहेकोमा चालु आवको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको प्रतिवेदनले देखाएको छ । सरकारले लकडाउन सुरु गरेदेखि शोधनान्तर बढ्न थालेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आयात घटेको, रेमिट्यान्स आप्रवाह बढेको, सरकारको बाह्य ऋण बढेको लगायत कारण शोधनान्तरमा राम्रो सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।

थुप्रियो विदेशी मुद्रा

गत असोजसम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो ४.९ प्रतिशतको वृद्धि हो । गत असारमा यो १४ खर्ब १ अर्ब रुपैयाँ थियो । तीन महिनामा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति बढेको छ । २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा गत असोजमा १२ अर्ब ५५ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोजसम्मको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १४.१ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ । कान्तिपुर दैनिक