२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा



default
अ+ अ-

म्याग्दी । मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो ।

पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे« हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ । दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृष्य एकैठाउँबाट देख्न पाइन्छ ।

चाङ्गाबाट देखिने मनमोहक हिमशृङ्खला, शान्त र एकान्त वातावरणले तन र मन दुवै चाङ्गा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताउनुभयो । “चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनायो”, उहाँले भन्नुभयो, “यात्राको थकान मेटियो । दु:ख बिर्सायो । समय बितेको पत्तै भएन ।” जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चाङ्गाको थप विशेषता रहेको उहाँले उल्लेख गर्नुभयो ।

चाङ्गाको बराह मन्दिरको धार्मिक महत्व छ । भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन् । खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चाङ्गा घुम्न गएका किरन कार्कीले बताउनुभयो ।

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उहाँले बताउनुभयो । चाङ्गा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमा सवारीसाधनमार्फत चाङ्गामा पुग्ने गर्दछन् ।

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसीले बताउनुभयो ।

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल र जिपमा यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ । बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चाङ्गा पुग्ने पदमार्ग पनि छ ।

मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चाङ्गा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताउनुभयो ।

चाङ्गाबाट बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मङ्गलाको वडा नं ४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उहाँले बताउनुभयो । रासस