२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक गाजाको दह: पानी सुक्नथालेपछि स्थानीयवासी चिन्तित



अ+ अ-

बलेवा । यहाँस्थित ऐतिहाँसिक गाजाको दह नजिकै व्यापार गर्दै आउनुभएका नरबहादुर थापाले दशक अघिसम्म दहमा पानीको सतह भरिभराउ देख्नुहुन्थ्यो । पछिल्लो समय दहमा बिस्तारै पानी सुक्दै गएको छ ।

वर्षात्मा हावा चल्दा तालको छालले छेउका घरमा असर गर्ने डर हुन्थ्यो । तर अहिले त वर्षात्मा पनि यो ताल सुख्खा जस्तै भयो । भरिभराउ हुनुपर्ने तालको आधा पनि पानी नभरिएपछि स्थानीय बासिन्दा चिन्तामा छन् । २ हजार ५ सय मिटर उचाइको गाजा दहको पानी सुक्दा पर्यटकीय स्थल ओझेलमा पर्ने, तल्लो खण्डमा पानीको समस्या बल्झिने चिन्ता बढेको थापाले बताउनुभयो ।

सयौं वर्षदेखि पहाडको धुरीमा रहेको बागलुङको प्रसिद्ध गाजाको दह पछिल्लो समय सुक्दै जान थालेको हो । हिउँदमा नसुक्ने, वर्षात्मा धमिलो पनि नहुने विशेषता बोकेको यो दहमा डोजर लगाएर संरक्षण गर्न खोज्दा पानी घटेको स्थानीयको अनुमान छ ।

पाँच वर्षअघि यहाँ पर्खाल लगाएर पानी संरक्षण प्रयास गरिएको थियो । यसका लागि डोजर लगाएपछि पानीको सतह सुक्दै जान थालेको स्थानीयले जनाएका छन् । बागलुङ सदरमुकामदेखि २४ किमी पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्य हो । यहाँ सिद्ध बराहको थान छ । यो थानमा जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाबासी पूजा गर्न पुग्छन् । त्यस बाहेक अन्यत्रबाट पनि घुम्न जानेहरु धेरै छन् ।

यो दहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेसहित मनास्लु हिमाल समेत देखिन्छ । उच्च पहाडमा भएकोले हिउँदमा हिउँ पर्छ । जंगल छेवैमा भएर पनि यो ताल सँधै सफा हुन्छ । यसैले यहाँ पर्यटक जानेआउने गर्छन् । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङजाका धेरै क्षेत्र देखिन्छन् । त्यसैले यहाँ पैदल यात्रा गरेर पनि पर्यटकहरु पुग्ने गर्छन् । “यो दह धार्मिक रुपमा पनि प्रसिद्द छ, तर संरक्षणको नाउँमा डोजर लगाएर पानी घट्यो ” स्थानीय थापाले भन्नुभयो “अब मौलिक रुपमै संरक्षण नगरे दहको अस्तित्व सकिन्छ । ” सडक अप्ठ्यारो भएकोले गाजा दह पुग्ने सडकलाई स्तरीय बनाउन पनि उहाँले माग गर्नुभयो ।

गाजा दहको छेवैमा रहेको सिद्द थानमा बैकुष्ठ चर्तुदर्शी तथा बाला चर्तुदर्शीमा मेला लाग्ने गरेको छ । बाला चर्तुदर्शीमा त सतबिज झर्नेको भीड समेत लाग्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा यहाँ गाजा दह नुहाउने भक्तजन पनि पुग्छन् । धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटन क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने स्थानीयको माग छ ।

गण्डकी प्रदेश सरकारले यो दहलाई पर्यटन क्षेत्रमा सूचिकृत गरेको छ । तर पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीयले गुनासो गरेका छन् । सिद्ध बराह मन्दिर र ताल संरक्षण गर्न स्थानीयले महायज्ञ समेत लगाएका छन् । शनिबारदेखि शुरु भएको महायज्ञ सात दिन चल्ने जैमिनी नगरपालिका वडा नंं ३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले बताउनुभयो । यो महायज्ञ धार्मिक मात्र नभई सास्कृति र दह संरक्षणको अभियान भएको उहाँको भनाइ छ ।

पानी सुक्दा पर्यटकीय गतिविधि पनि ठप्प हुने स्थानीय यानुकला कालामगरले गुनासो गर्नुभयो । ताल छ भनेरै धेरै मानिस घुम्न आउने हो, पानी सुक्यो भने त यहाँ कोही आउँदैन’ कालामगरले भन्नुभयो, “यहाँको महत्व जोगाउनु पर्छ । ” गाजा दहको आसपासमा बस्ने मगर र छन्त्याल समुदाय बसोबास गर्दछन् । उहाँहरुले यहाँको धार्मिक मठमन्दिरमा पूजा गर्नुहुन्छ । साथै, मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृति समेत देखाउने चलन छ । रासस