२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीस वर्षदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका चन्द्रवंशी परिवार



अ+ अ-

धरान । जिल्लाको बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले गोलभेँडा खेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्दै आउनुभएको छ । विगत २० वर्षदेखि व्यावसायिक कृषि पेसामा आबद्ध उहाँले गोलभेँडा खेतीलाई प्रमुख उत्पदानको स्रोत बनाउनुभएको हो ।

श्रीलङ्का टप्पुका किसानका बारीमा अहिले मकै, सागसब्जी, आलु, कोपी, बोडीलगायत मौसमअनुसार तरकारी उत्पादन भइरहेका छन् । अर्जुनको व्यवसायमा उहाँका चार छोराले साथ दिइरहनुभएको छ । कृषि कर्मको आम्दानीबाट जीविकोपार्जन भइरहेको बताउँदै अर्जुनले गोलभेँडाबाट मात्रै सबै खर्च कटाएर रु २० लाख बचत हुने गरेको जानकारी दिनुभयो ।

अहिले करिब चार बिघा क्षेत्रफलमा गोलभेँडा खेती गरिरहेको अर्जुनका छोरा श्रीराम चन्द्रवंशीले बताउनुभयो । गोलभेँडाबाट वार्षिक रु ३० लाख आम्दानी हुनेमा खेतीमा प्रयोग गर्ने मल, कर्मचारीलगायतको वार्षिक रु १० लाख जति खर्च हुने गरेको उहाँले बताउनुभयो ।

श्रीराम भन्नुभयो, “कृषिकर्म हाम्रो पुर्खौली पेसा हो । सुरुआती समयमा सागसब्जी, आलु, कोपिलगायत खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडाबाट मनग्ये आम्दानी हुन थालेपछि यसप्रति बढी आकर्षित हुन थालेका हौँ ।” गोलभेँडा अहिले थोकमा प्रतिकेजी रु एक सयमा फार्मबाटै व्यापारीले खरिद गरेर लैजाने गरेका उहाँले बताउनुभयो ।

“गत असोजमा आएको बाढीले चार कठ्ठा जति खेतीमा क्षति ग¥यो । बारीमा छरेको मल बगाउनुका साथै केही डुबानमा पनि प¥यो । बाढीले करिब रु तीन लाख बढीको क्षति भएको थियो । अहिले भने मौसमले साथ दिएकाले उत्पादन राम्रो भइरहेको छ”, श्रीरामले भन्नुभयो । गोलभेँडाको माग प्रशस्त भएकाले बजारीकरणको समस्या नरहेको उहाँले बताउनुभयो ।

“उत्पादित कृषि उपज बजार बोकेर लैजानुपर्दैन । व्यापारी आफैँ गोलभेँडासहित अन्य सागसब्जी खरिद गर्न खेतबारीमै आउनुहुन्छ । यहाँ आउनेलाई बजार मूल्यभन्दा रु २० कम लिने गरेका छौँ”, श्रीरामले भन्नुभयो । धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, बराहक्षेत्रलगायत स्थानबाट व्यापारी फार्ममा गोलभेँडा खरिद गर्न आउने गरेका उहाँले जानकारी दिनुभयो ।

गोलभेँडा खेतीमा लगानी र दुःख बढी भए पनि मेहिनत गरेअनुसार प्रशस्त उत्पादन हुने भएकाले नोक्सान नहुने श्रीरामले अनुभव सुनाउनुभयो । परिवारका चार दाजुभाइसहित थप २० जनाले रोजगारी पाएका उहाँले बताउनुभयो ।

गोलभेँडाको मौसममा कम मूल्यमा बिक्री गर्नुपरे पनि बेमौसममा रु एक सयदेखि रु एक सय ५० सम्ममा बिक्री हुने श्रीरामले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक छ सय क्विन्टल बढी भोलभेँडा बिक्री हुने गरेको छ ।

अहिले करिब २० बिघा क्षेत्रफलमा कृषिखेती गर्दै आएको बताउँदै करिब चार बिघामा गोलभेँडा, चार बिघामा मकै र बाँकी जग्गामा कोपि, बोडीलगायत सागसब्जी खेती गरिरहेको श्रीरामले जानकारी दिनुभयो ।

जिल्लामा हाल आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । “जिल्लाको बराहक्षेत्र नगरपालिकामा बढी मात्रामा गोलभेँडा, कोपी, बोडीलगायत सागसब्जीको प्रशस्त उत्पादन हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गत असोजमा आएको बाढीले तीन सय ५४ हेक्टरभन्दा बढी खेती नष्ट गर्दा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ ।

सिँचाइ सुविधा, मलको उपलब्धतादगायत कारणले पछिल्लो समय नगरभित्र गोलभेँडासहित सागसब्जीको उत्पादन प्रशस्त हुन थालेपछि यहाँका अधिकांश परिवार यसतर्फ आकर्षित भएका नगरप्रमुख रमेश कार्कीले बताउनुभयो । “यहाँका करिब ९० प्रतिशत परिवार तरकारी खेतीमा आबद्ध छन् । श्रीलङ्का टप्पु तरकारी खेतीका लागि प्रख्यात क्षेत्र मानिनुका साथै बजारीकरणको समस्या नभएकाले कृषकको आकर्षण बढेको हो”, उहाँले भन्नुभयो ।

नगरपालिकाले स्थानीय किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जैविक तरकारीखेतीमा अनुदान, पशुपालन गर्नेलाई लगानीमा सहयोग, सिँचाइ सुविधा र उत्पादित वस्तुको बजारीकरणमा सहजीकरण, प्राविधिक परामर्शलगायत क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको नगरप्रमुख कार्कीले बताउनुभयो ।