२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेसम्म कस्तो बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ? हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार  अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आउनुभएको छ । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिनुभएको थियो ।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो ।  
 
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालनयोग्य भएको छ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ । 

विमानस्थलको भित्री तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडानपूर्व  तयार हुनुपर्ने भौतिक  संरचना तयार भइरहेको छ ।

बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक÷इन्जिनीयर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४।५ प्रतिशत प्रगति हासिल गरेको थियो ।