१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतका सातै पालिकामा समुदायमा कोरोना परीक्षण, सबै नेगेटिभ



अ+ अ-

पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय पर्वतका अनुसार समुदायका हालसम्म ९४६ व्यक्तिको नमूना परीक्षण गरिएको छ । जिल्लाको कुश्मा नगरपालिकामा ११७, फलेवास नगरपालिकामा ११५, जलजला गाउँपालिकामा ६८, मोदीमा ५८, महाशीलामा ५१, विहादीमा ११० र पैयुँ गाउँपालिकामा ११० जनाको स्वाब सङ्कलन गरी पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा परीक्षण गरिएको हो । समुदायमा पुगेर स्वाब सङ्कलन गरिएका ९४६ जनाकै रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र (सिसिएमसी) पर्वतका प्रवक्ता प्रवीण भण्डारीले बताए ।

उनका अनुसार पर्वत अहिलेसम्मलाई सुरक्षित देखिएको छ । समुदायमा बाहेक कन्ट्याक्ट ट्रेसिङमा परेका २४० जनाको पनि नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पर्वतमा गत चैत ११ गतेपछि भारतबाट एक हजार ११३ र भारतबाहेक तेस्रो मुलुकबाट ३६१ व्यक्ति जिल्ला भित्रिएका छन् । उनीहरुसहित हालसम्म पर्वतमा दुई हजार १४० पुरुष र ३७८ महिला गरी दुई हजार ५१८ जनाको पिसीआर परीक्षण गरिएको छ । 

पर्वतमा हालसम्म विदेशबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङका गरी जम्मा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १०३ उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अहिले छ सङ्क्रमितको सदरमुकाममै रहेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जिल्ला अस्पताल पर्वतका मेडिकल सुपरिटटेन्डेन्ट डा शिशिर देवकोटाका अनुसार ती सङ्क्रमितको भोलि सोमबार स्वाब सङ्कलन गरी पुनः परीक्षणका लागि पठाइने छ । उनीहरुमा कुनै लक्षण देखिएको छैन । 

पर्वतमा समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञालाई कडा पारिएको छ । पछिल्लो एक सातादेखि सार्वजनिक सवारीका साधनहरु पूर्णरूपमा बन्द गरिएको छ भने जिल्ला भित्रिने सबै नाकाहरुमा सवारी जाँचमा कडाइ गरिएको छ । सदरमुकाम र पालिकास्तरमा समेत जनचेतनाका कार्यक्रमलाई प्रहरी र स्थानीय तहका कर्मचारीले निरन्तर प्रभावकारी बनाइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।