१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै मुद्दाका तीन फरार व्यक्ति पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । गौबध मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ दुलेगौँडा निवासी ३१ वर्षीय भरत थापा भन्ने विशाल पुनउपर जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको थियो । विसं २०७१ चैत १८ गते अदालतले उक्त फैसला गरेपछि उनी फरार रहँदै आएका थिए । पक्राउ परेका उनलाई जिल्ला अदालतसमक्ष पेश गरेकामा बाँकी रहेको कैद भुक्तानका लागि सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । 

त्यसैगरी भिमाद नगरपालिका–१ डुम्रेबेँसी बस्ने २२ वर्षीय बालकृष्ण भुजेल भन्ने बलबहादुर घर्तीलाई सवारी ज्यान मुद्दामा फरार रहेकाले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७४ साउन ३१ गतेको जिल्ला अदालतको फैसलाले निजलाई दुई वर्ष कैद हुने गरी सजाय ठहर गरेकामा उक्त फैसलाउपर एक वर्ष ११ महिना पाँच दिन कैद भुक्तान नगरी फरार रहेकाले उनलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए । त्यसैगरी केही सार्वजनिक अपराध मुद्दाका फरार रहेका व्यासनगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी २४ वर्षीय सुनिल बाचेलाई पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । विसं २०७२ चैत १६ गतेको जिल्ला अदालतको फैसलाले रु पाँच हजार जरिवाना ठहर गरेकामा उक्त जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेकाले खोजतलास गर्दै जाँदा भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौँदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिहरुको खोजीकार्यलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।