२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुक फ्री फ्राइडेका ३५ वटा विषयगत प्रदर्शनी



अ+ अ-

काठमाडौँ । २ दिने ‘काठमाडौँ शैक्षिक मेला’  सकिएको छ । फागुन १६ र १७ गते राष्ट्रिय सभा गृहमा मेला चलेको थियो । यी दुई दिन सभा गृहको प्रेक्षालय र बाहिरी भागमा विद्यार्थीहरु प्रदर्शनी र प्रस्तुतिमा व्यस्त रहे । प्रस्तुतिमा उनीहरुले नेपाली, नेपाल र अंग्रेजी गरी ३ वटा भाषाका विविध विधामा नृत्य, अभिनय, संकेत र संवादका माध्यमबाट आफूले सिकेको सिप अभिव्यक्त गरे ।

कपडामा आइरन लगाउँदा, टाँक लगाउँदा, घरमा खाना, चिया कफी बनाउँदा, श्रृङ्गार गर्न जान्दा, स्वच्छता र सरसफाइको ज्ञान हुँदा विद्यार्थीहरुको जीवनमा आएको सहजता र अभिभावकको काममा पुगेको सहयोगलाई प्रस्तुतिबाट देखाए । विद्यार्थीहरुले चर्या विधामा पर्ने कुमारी नृत्य, परम्परागत धिमे बादन तथा नृत्य, कुमारी रथ यात्रा, यात्राका क्रममा निकालिने मजिपा लाखे, पुलुकिसी देखाए । विपदको पूर्वतयारी गर्ने विधि सुनाए । स्वास्थ्य संकट आउँदाको आपतमा के गर्ने भन्ने क्रियाकलाप देखाए । स्काउटले मार्चपास र उद्धार सिप देखाए । कान सुन्ने र बोल्ने क्षमता नभएका बालिकाहरुले ‘रुकुमै कोट’ बोलका गीतमा नृत्य प्रस्तुत गरे ।

कसैले चित्र कोरे । कसैले क्यामरा चलाए । कसैले ड्रोन उडाए । कसैले हार्मोनियमको सुर सुनाए । कसैले मादलको धुन सुनाए । पठन संस्कृतिअन्तर्गत कोही पढिरहेका थिए । यसरी ३३ प्रकारका विभिन्न प्रस्तुतिमार्फत उनीहरुले कला प्रस्तुत गरे । कसैले योग कला प्रदर्शन गरे ।

सभा गृह परिसर विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षा क्षेत्रका प्राज्ञ र सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो । यसरी आएका पाहुनालाई विद्यार्थीहरुले प्रदर्शनी कक्षमार्फत बुक फ्री फ्राइडेसँग सम्बन्धित विषयगत सिप प्रदर्शन गरे । प्रदर्शनीमा सिकाइ गरिएका उपसमूहमा बालबालिका तथा वातावरण (वावा), विज्ञान, प्रविधि, इञ्जिनियरिङ्, आर्टस् र गणित (स्टिम), भित्ते चित्र (म्युरल), संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन, एनिमेसन र गेमिफिकेसन, नाट््य, व्यक्तित्व विकास, उद्यमशील सोच, पठन संस्कार, योग, संगीत तथा नृत्य, ड्रोन, र कोडका नमूना तथा ढाँचाका विषयमा जिज्ञासा राख्नेहरुलाई सिकाइ प्रक्रिया र उपलब्धिका बारेमा जानकारी दिए । गएको दशै तिहारका बिचमा दिइएको छुट्टीका समयमा महानगरपालिकाले विद्यार्थीहरुको सिर्जनशीलतालाई वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको फेस्टिभल क्याम्पका अवसरमा विद्यार्थीहरुले कोरेका करिब २ हजार चित्रहरुमध्ये मेलामा १ हजार चित्र प्रदर्शनमा राखिएका थिए ।

मेलाको अर्को आकर्षण विद्यालयमा दिवा खाजाका रुपमा खुवाइने खाजा थियो । विद्यार्थीहरुले विद्यालयहरुमा ३० रुपैयाँमा कस्तो खाजा खाँदा रहेछन्, भन्ने जानकारी दिन विद्यालयकै भान्छा सञ्चालकहरुले खाजा वितरण गरेका थिए । दुई दिनमा करिब २ लाख ५० हजार रुपैयाँको खाजा विक्री भएको शिक्षा विभागले जानकारी दिएको छ ।

बुक फ्री फ्राइडेअन्तर्गत महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म २५ विधामा सिर्जनात्मक सिकाइ भइरहेको छ । यस्तै माध्यमिक तहमा १० विधामा शिक्षामा सिप कार्यक्रम सञ्चालन हुने गरेको छ । यसरी सञ्चालन गरिएका कार्यक्रमको नतिजाबाट मेला सञ्चालन गरिएको हो ।

मेलाको समापन गर्दै शिक्षा, स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जंनले, विद्यार्थीहरुको प्रस्तुतिको प्रशंशा गर्दै विद्यालय उमेरमा प्राप्त गरेको नेतृत्व विकासले सामाजिक रुपान्तरणमा योगदान दिने विश्वाश व्यक्त गर्नुभयो । नमूना संसद कार्यक्रमका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिबाट मात्र समग्र र एकीकृत विकास सम्भव छ । अन्य क्षेत्र कुनै एक विषयसँग मात्र सम्बन्धित हुन्छन् । राजनीतिले सबै क्षेत्रको रुपान्तरण गर्न सक्छ ।’ उहाँले नमूना संसद कार्यक्रममा उठाइएको राजनीतिक विकृतिका विषयमा उल्लेख गर्दै भन्नुभयो, ‘असल राजनीतिले विगार गर्दैन । विगार्ने खराव राजनीतिले हो ।’ मेलमा एलआरआइ स्कूलमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले संसदीय अभ्यासको नमूना प्रदर्शन गरेका थिए ।

यसमा नेपालको शैक्षिक प्रणाली, देशको शान्ति सुरक्षा, सीमा सुरक्षा र अमनचैन, रोजगारी, नागरिक जीवनको सहजता, राजनीतिक अवस्था, व्यवस्था, सुशासन, भ्रष्टाचार, कृषि, उर्जा जलस्रोत तथा सिचाइँ, नियामक निकायको भूमिका, सामाजिक सुरक्षा जस्ता विषय उठान भएका थिए । संसदमा विद्यार्थीहरुले सभामुख, उपसभामुख, सत्ता पक्षमा रहेको मन्त्रीमण्डल र प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए ।

प्रतिपक्षले उठाएका आलोचनात्मक चेतयुक्त प्रश्नहरुको स्वागत गर्दै सत्तापक्षले जिम्मेवारपूर्वक जवाफ दिएका थिए । बैठकले, हरेक पदाधिकारी र व्यक्तिले कानुनी दायित्व पूरा गर्दैमा सुव्यवस्था कायम हुन सक्दैन । यसका लागि राजनीतिक दल र पदाधिकारीले आपसको सहअस्तित्व स्वीकार गर्नुपर्छ । सर्वसाधारणले नागरिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भन्ने निष्कर्ष निकालेको थियो ।

‘विद्यार्थीहरुको प्रस्तुतिले प्रयोगातात्मक सिकाइमा आधारित बुक फ्री फ्राइडे कार्यक्रमलाई स्थापित गरेको छ ।’ प्रदर्शनीका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भन्नुभयो, ‘अहिलेसम्म प्राप्त उपलब्धिलाई संरक्षण र संस्थागत गर्दै कार्यक्रमलाई दिगो बनाउने दिशामा अबका कार्यक्रम केन्द्रीत हुनेछन् ।’ आयोगका सहायक विज्ञ सस्मित पोखरेलले भन्नुभयो, ‘किताबमा भएको ज्ञानलाई व्यवहारिक सिकाइबाट अध्यापन गराउँदा विद्यार्थीहरुको आयामिक विकास हुने कुरा मेलामा विद्यार्थीहरुको क्रियाकलापले पुष्टि गरेको छ ।’ मेलाका लाभका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अभ्यासमा आधारित सिकाइ, भोगाइ र असल अभ्यास आदानप्रदानसँगै सामाजिकीकरणमा मेलाले ठुृलो भूमिका खेलेको छ ।’

‘विद्यार्थीको रुचि, अभिभावकको चाहना पूरा गर्न शिक्षक तथा विद्यालयहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न मेलाले पृष्ठपोषण प्रदान गरेको छ ।’ शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले भन्नुभयो, ‘यसबाट प्राप्त सूचनाले हामीलाई आगामी शैक्षिक सत्रको कार्यक्रमलाई परिष्कृत गर्न मद्दत भएको छ ।’

सामुदायिक विद्यालयहरुले दिवा खाजाका रुपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइयो । यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिएका छन् ।

महानगरपालिकाले सञ्चालन गरेका टिचर कलेज प्रोग्राम, नतिजा सुधारका असल अभ्यासलगायत विषयमा जानकारी दिन सूचना केन्द्र राखिएको थियो । कार्यक्रमका फोकल पर्सन शिक्षा अधिकृत ओमप्रसाद गौत्तम भन्नुहुन्छ, ‘कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । यो सकिएको छ । अब दोस्रो चरणमा फागुन २३ गते (चालु शैक्षिक सत्रको अन्तिम दिन) शिक्षा साझेदार,  सरोकारवाला र इच्छुक सबैलाई आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराइनेछ ।’

तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२० जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।

यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।