२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने



अ+ अ-

दमौली। जिल्लाको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । यसका लागि यहाँ रहेको ऐतिहासिक मुकुन्देश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको हो ।

नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन राजाको पालामा निर्माण भएको यो मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा परेको थियो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार मुकुन्देश्वरीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । मुकुन्देश्वरीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित संरचना निर्माण गर्ने योजना बनाइएको उनले जानकारी दिए ।

यहाँ दरबार, सङ्ग्रहालय, पार्क, भ्यूप्वाइट लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाडाँमा अवस्थित यो मन्दिरमा विगतमा वडादसैँका अवसरमा नियमित पूजा गरिँदै आए पनि पछिल्लो समय चैते दसैँलगायत अन्य समयमा पनि पूजाआजा गरिँदै आइएको छ ।

इतिहास विद्हरूका अनुसार पाल्पाली राजा मणि मुकुन्दसेन पाल्पाबाट काठमाडौँ उपत्यका जाने वा आफ्ना अन्य राज्यलगायत तीर्थस्थल भ्रमण गर्ने क्रममा मुकुन्देश्वरीमा बसाइँ गर्ने गर्दथे ।

मन्दिर क्षेत्र परिसरमा अझै पनि राजामणि मुकुन्दसेनको शीतकालीन दरबारका भग्नावशेष, तत्कालीन सैनिक टुँडिखेल, ३०–३५ जना अट्ने गुफा, ८–१० फिट गहिराइको इनार, घोडा बाँध्न प्रयोग गरिएका तबेला रहेका छन् । यी सम्पदालाई संरक्षण गर्दै मुकुन्देश्वरी क्षेत्रलाई अध्ययन अनुसन्धानको केन्द्रका रूपमासमेत विकसित गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय बासिन्दाको सक्रियता, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा यसको पुनःनिर्माण अघि बढाइएको मुकुन्देश्वरी मन्दिर एवं दरबार निर्माण तथा संरक्षण समिति अध्यक्ष सुकुमलाल गुरुङले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाबाट विनियोजित रु पाँच लाखबाट मन्दिरसम्म पुग्न करिब दुई सय ९० मिटर अधुरो सिँढी निर्माण सम्पन्न भइसकेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजित रु पाँच लाख बजेटबाट ग्याबिन जाली भर्ने काम सम्पन्न भइसकेको छ । यस्तै, गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु १० लाख बजेट प्राप्त भई मन्दिर निर्माण तीव्र रूपमा अगाडि बढिरहेको समिति अध्यक्ष गुरुङले जानकारी दिए ।

गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि मणि मुकुन्देश्वरी पदमार्ग (मिनि ग्रेटवाल) निर्माणको कामलाईसमेत तीव्रता दिएको छ । उनका अनुसार चीनमा रहेको विश्वाको प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । मुकुन्देश्वरी समुद्री सतहबाट एक हजार तीन सय ४३ मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली, गणेश, लाङटाङ हिमशृङ्खलालगायत तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका विभिन्न स्थान सजिलै अवलोकन गर्न सकिन्छ ।

बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुग्न सकिन्छ, त्यसपछि करिब ४५ मिनेटको उकालो पैदलयात्रा गरेपछि मुकुन्देश्वरी डाँडामा पुग्न सकिन्छ । रासस