२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन्: अध्यक्ष दाहाल



अ+ अ-

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उहाँले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताउनुभयो । “यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष दाहालले भन्नुभयो । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उहाँको जिकिर थियो ।

विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकार्नुभयोे । “जनताको माझबाट सत्तामा पुगेपछि हामीबाट केही कमजोरी भए । व्यवस्था परिवर्तनका लागि भूमिका खेलेका जाति, समुदाय र वर्गबाट टाढा भएको जस्तो भयो । अहिले गम्भीर समीक्षापछि आफ्ना गल्तीलाई महसुस गर्दै पार्टी अगाडि बढेको छ”, उहाँको भनाइ थियो ।

अब विसं २०८४ को निर्वाचन अगाडि पार्टी सरकारमा सहभागी नहुने भन्दै अध्यक्ष दाहालले पार्टीभित्र गम्भीर आत्मसमीक्षा गरेर हाल २०६४ सालमा मतदान गर्ने जनताको घरदैलोमा पुग्ने काम भइरहेको बताउनुभयो । जनताको भावना बुझ्नकै लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस अभियान सञ्चालन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले परिवर्तित व्यवस्थालाई समाजवादी लोकतान्त्रिक गणतन्त्रसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले केही शक्तिले उत्पीडित जनतालाई उकास्दै प्राप्त उपलब्धि समाप्त पार्ने प्रयत्न गरिरहेको भन्दै त्यसको रक्षा गर्न सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । “थारु जाती नेपालको पुरानोमध्ये एक हो । हाल कतिपयले त्यही समुदायलाई उकास्ने र थचार्ने प्रयत्न गरिरहेका छन् । त्यसमा अलमल पर्नुहुँदैन । जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै त्यसको संरक्षण गर्ने दायित्व हामी सबैको काँधमा छ”, उपमहासचिव पुनले भन्नुभयो ।

उपमहासचिव गिरिराजमणि पोखरेलले वर्तमान व्यवस्थालाई चौतर्फी आक्रमण हुँदै आएको भन्दै जनताको माझबाट त्यसको प्रतिकार हुनुपर्ने बताउनुभयो । उहाँले देशका हरेक परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण रहेकाले यो समुदायको सम्मानका लागि पनि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताउनुभयो ।

सम्मेलनमा विभिन्न २४ जिल्लाका करिब सात सय पचास प्रतिनिधिको सहभागिता रहेको छ । यही फागुन २२ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस