२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिनेः अस्ट्रेलिया



अ+ अ-

सिड्नी । अस्ट्रेलियाले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री स्कट मरिसनले भाइरसविरुद्ध सफल भएसँगै सम्पूर्ण नागरिकलाई निःशुल्क उपलब्ध गराउने बुधबार घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय औषधि कम्पनी अस्ट्राजेनेकासँग खोप उपलब्ध गराउने सहमति भएसँगै मरिसनको भनाइ सार्वजनिक भएको हो । उनका अनुसार २ करोड ५० लाख अस्ट्रेलियालीले उक्त खोप निःशुल्क लगाउन पाउनेछन् । मरिसनले बुधबार बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरिरहेको खोपको परीक्षण सफल भएमा अस्ट्रेलियामै उत्पादन गर्ने सहमतिसमेत भएको जनाए ।

‘यो खोप कोरोना भाइरसविरुद्ध उपयोगी सावित भएको खण्डमा हामी यहाँ उत्पादन गरेर वितरण गर्नेछौं र २ करोड ५० लाख जनतालाई निःशुल्क उपलब्ध गराउनेछौं,’ मरिसनले भनेका छन् । त्यस्तै, प्रधानमन्त्री कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाले बेलायतको अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेकाले संयुक्त रूपमा गरिरहेको खोप परीक्षण तेस्रो चरणमा रहेको र उक्त खोप ल्याउने सबै तयारी पूरा भएको जनाएको छ ।

मरिसनले विशेष स्वास्थ्य अवस्थाबाहेक यो खोप देशभर अनिवार्य गरिनेसमेत जनाए । त्यसका लागि बेक्टन डिकिन्सन कम्पनीसँग खोपका लागि आवश्यक पर्ने सुईलगायत अन्य सामग्री खरिदका लागि समेत सहमति गरिएको मरिसनको भनाइ छ । उनले आफ्नै देशमा समेत खोपको परीक्षण कार्यलाई निरन्तरता दिइनेसमेत जनाएका छन् । हाल अस्ट्रेलियाका विभिन्न राज्यका करिब आधा दर्जन प्रयोगशालामा भाइरसविरुद्धको खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ । यसका साथै प्रधानमन्त्री मरिसनले छिमेकी राष्ट्रहरूलाई समेत जतिसक्दो चाँडो खोप उपलब्ध गराइने जनाएका छन् । अस्ट्राजेनेकाले अन्य देशसँग समेत खोप उपलब्ध गराउने विषयमा सहमति गरिसकेको छ । उसले पहिलो चरणमा ३ अर्ब डोज खोप उत्पादन गर्नेसमेत जनाएको छ ।

अस्ट्रेलियामा यो खोप उपलब्ध हुने मितिबारे भने केही उल्लेख गरिएको छैन । तर परीक्षण सफल भएको खण्डमा सन् २०२१ को सुरुवातदेखि नै सबै अस्ट्रेलियालीले निःशुल्क रूपमा खोप लगाउन पाउने स्थानीय समाचारमाध्यमले जनाएका छन् । पछिल्लो समयमा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देखिएको भाइरसको दोस्रो लहरका कारण जनजीवन प्रभावित छ । तर केही दिनयता दैनिक संक्रमणमा कमी आएपछि कडा रूपमा लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । हाल भिक्टोरियामा दैनिक करिब २ सयको हाराहारीमा नयाँ संक्रमित थपिइरहेको जनाइएको छ । अन्य राज्यहरूमा भने लामो समयदेखि नयाँ संक्रमित भेटिएका छैनन् । कान्तिपुर दैनिक