२४ जेष्ठ २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान



अ+ अ-

फुङ्लिङ, (ताप्लेजुङ) । जिल्लाका किसान क्रमश: सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन् । बाह्र परिवारले एक सय ४० रोपनीमा मकैखेती गरिरहेका छन् ।

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक–फरक प्रकारका बालीनाली लगाउने गर्थे । कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे । तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन् । कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार एक सय ४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो । समूहले सामुहिक खेतीका निम्ति रु १६ लाख लगानी गरेको छ । कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ ।

रामपुर हाइब्रिड १६ र मनकामना–३ प्रजातिका उन्नत जातका लगाइएको छ । परियोजनाका प्रमुख काशीराम पाण्डेका अनुसार चक्लाबन्दी कार्यक्रमअन्तर्गत किसानलाई आधुनिक कृषियन्त्र प्रयोग गर्ने ज्ञान, खेती गर्ने प्रविधिबारे जानकारी दिइने गरेको छ ।

सूर्यज्योति कृषक समूहका अध्यक्ष देवेन्द्र गुरागाईँका अनुसार सामूहिक खेतीका सदस्य आगामी वर्षहरूमा मकै उत्पादनलाई अझ व्यावसायिक बनाउने योजनामा छन् । स्थानीय बजारसँगै राष्ट्रिय बजारमा मकै बिक्री गर्ने तथा अन्य आधुनिक कृषि प्रविधि पनि अपनाउने सोचमा उनीहरु छन् । कृषि पर्यटन प्रवर्द्धन गर्दै अन्य किसानलाई समेत सामूहिक खेतीप्रति आकर्षित गर्ने समूहको लक्ष्य छ । रासस