काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन सक्ने भन्दै त्यसका लागि मानसिक रुपमा तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साथमा नै राखेर काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा बुधबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीले विभाजनमा देखाएको सक्रियता र निषेधात्मक व्यवहारले पार्टी विभाजन हुन सक्ने अवस्था आएको बताए ।
अध्यक्ष दाहालले ओलीले पार्टी फुटको पक्षमा लगातार गतिविधि गर्दै भन्दै आफूले विभाजन रोक्न पहल गरिरहे पनि परिणाम सुखद् आउने अवस्था कम हुँदै गएको बताए । उनले स्थायी समितिको बैठक जारी रहेका समयमा निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्नु र जनताको बहुदलीय जनवादको मुद्दा अघि सार्नुले दल विभाजनतिर गइरहेको अनुभूति भएको सुनाए ।
उनले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार भएर बस्नुपर्ने अवस्था आएको उल्लेख गर्दै मानसिक रूपमा तयार नभए त्यस्तो अवस्था आए मानिस अतालिएर डिप्रेसनमा जाने खतरा पैदा हुने बताए ।
अन्तरक्रियामा नेता नेपाल र खनालले पनि पार्टीमा हाल भइरहेको बहस पद बाँडफाँड र लेनदेनका लागि नभई अध्यक्ष ओलीलाई रुपान्तरण गर्न र पार्टी एकता सुदृढ गराउनका लागि भएको बताएका थिए ।
उनीहरूले आफूहरु ओलीबाट बारम्बार अपमानित हुनु परेको गुनासो समेत गरेकाे सुनाएका थिए । उनीहरुले ओलीले आफू नै राज्य, आफू नै पार्टी हुँ भन्ने अहंकार राखेको दाबी गर्दै महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुँ भन्ने भ्रम नराख्न समेत चेतावनी दिएका थिए ।












