२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुघाखोकी निको हुनै लामो समय



अ+ अ-

चितवन। यतिबेला रुघाखोकी लागेका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यसो त अन्य समयमा रुघाखोकी लागेमा दुई चार दिनमा निको हुने गरेकामा यो वर्ष भने दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको हो ।

भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख फिजिसियन डा प्रकाश खतिवडा हरेक तीन वर्षमा एन्फुञ्जाले आफ्नो रूप परिवर्तन गर्ने र बलियो भएर आउने बताउनुहुन्छ । हरेक तीन तीन वर्षमा यस्तै हुने गरेको भन्दै उहाँले अहिले निको हुन दुई हप्ताभन्दा बढी समय लाग्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रुघाखोकीसँगै घ्यारघ्यार भए निको हुन अरू बढी समय लाग्छ ।” खोकी, स्वास्वा हुनेजस्ता समस्या लिएर बिरामी आउने गरेको भन्दै उहाँले अझै एक महिना यस्तो समस्या रहने बताउनुभयो । दुई महिनायता यो समस्या बढी मात्रामा देखिएको हो । सरकारी अस्पताल, मेडिकल कलेजहरू र निजी अस्पताल एवं क्लिनिकमा समेत समेत यस्ता बिरामीको चाप रहेको डा खतिवडा बताउनुहुन्छ । उहाँले मास्कको प्रयोग गर्न, भीडभाडमा नजान सुझाव दिनुभयो ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी स्वासप्रश्वासका बिरामीमा अहिले बढी समस्या देखिएको बताउनुहुन्छ । रुघाखोकीसँगै अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने र रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई प्रदूषण र रुघाखोकीले सामान्य अवस्थाभन्दा बढी जोखिममा पारेको छ ।” नियमित औषधि सेवन गर्नेहरूलाई समेत यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

विशेषगरी बालबालिका, वृद्ध, मुटु र मिर्गौलाका रोगीहरूलाई जोगाउनुपर्नेमा उहाँको जोड छ । हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो र फोहर मिसिएकोजस्तो देखिने गरेको छ । रुघाखोकीसँगै देखिएको श्वासप्रश्वासको समस्या निको हुन समय लागेको उहाँ बताउनुहुन्छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी आफूले मधुमेह, थाइराइड, उच्च रक्तचापका बिरामी धेरै हेर्ने गरेकोमा अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामीहरू धेरै आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक कम्तीमा १० जना श्वासनली बज्यो, छाती घ्यारघ्यार भयो, रुघा निको भएन भनेर आउनुहुन्छ ।” कतिपय भर्खरै निको भएको तर पुनः समस्या आयो भन्दै अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तो समस्या निको हुन धेरैलाई दुई हप्ता लागेको उहाँले बताउनुभयो । पहिले रुघाखोकी दुई तीन दिनमा निको हुने गरेको थियो । यसको कारण बदलिएको कोभिड पनि हुनसक्नेतर्फ उहाँले सङ्केत गर्नुभयो । इन्फुन्जा नेपालमा रहेको भन्दै उहाँले भन्नुभयो, “रोग के कारणले लागेको हो भन्ने हामीकहाँ अध्ययन भएको छैन ।”

वायु प्रदूषण अर्काे कारण हुनसक्ने डा अधिकारीको भनाइ छ । अहिलेको समयमा विवाह, व्रतबन्ध, भोजभतेरजस्ता मानिसको भीड हुने कार्यक्रम धेरै भएकाले पनि यो फैलिएको डा अधिकारी बताउनुहुन्छ । यससँगै राजनीतिक समर्थन र विरोधका कार्यक्रममार्फत पनि सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो । उहाँले कोभिडको समयमा अपनाईएका स्वास्थ्य सुरक्षाका विधिहरू अपनाउन सुझाव दिनुभयो ।रासस