२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण



फाइल फोटो
अ+ अ-

भद्रपुर, (झापा) । कचनकवल गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय किसान उमाशङ्कर गणेशले गहुँखेती लगाउन छाडेको १५ वर्ष भयो । तत्कालीन समयमा सिँचाइको असुविधा, उत्पादन थोरै र मुख्य रूपमा जङ्गली हात्तीले गहुँबाली नोक्सान गरिदिने भएकाले गहुँबालीको विकल्पमा मकैखेती गर्न थालेको उहाँ बताउनुहुन्छ ।

“जङ्गली हात्तीले गहुँबाली घाँसका रूपमा खाइदिने भएकाले जोगाउनै मुस्किल पथ्र्यो”, ती दिनको सम्झना गर्दै स्थानीय किसान गणेशले भन्नुभयो, “मकैखेती गर्न थालेदेखि गहुँबालीको तुलनामा उत्पादन पनि धेरै हुनुका साथै जङ्गली हात्तीले समेत कमै मात्रामा नोक्सान पुर्याउने गरेको छ ।”

सिँचाइको सुविधा हुने र प्रशस्त मात्रामा गोबर मल प्रयोग गर्न सक्यो भने एक बिघा क्षेत्रफलमा एक मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । यो वर्षदेखि कृषि ज्ञान केन्द्र झापाको सहयोगमा शून्य खनजोत कार्यक्रमअन्तर्गत मकैखेती गर्न थालेपछि लागत घटेको उहाँको भनाइ छ ।

अर्जुनधारा नगरपालिका–४ भाङवारी किसान प्रेम आचार्यले गहुँखेती नलगाएको १० वर्ष भयो । हिउँदे खेतीमा गहुँ पाक्ने समयमा दुईवटा खेती गर्न सकिने भएकाले तोरी तथा मकैखेती लगाउन सुरु गरेको उहाँ बताउनुहुन्छ । एउटै याममा दुई खेती गर्न सकिने र राम्रो आम्दानी पनि हुने भएकाले गहुँखेती गर्न छाडेको उहाँका भनाइ थियो ।

झापामा पछिल्ला वर्ष गहुँ उत्पादन हुने जमिनको क्षेत्रफल घट्दै गएको छ । यहाँका किसानले गहुँको विकल्पमा अन्य हिउँदे बाली रोजेपछि गहुँको उत्पादन र क्षेत्रफल घट्दै गएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार आव २०७९/८० मा चार हजार पाँच सय हेक्टर जमिनमा गहुँखेती लगाइएकामा आव २०८०/८१ मा तीन हजार हेक्टर पुगेको छ ।

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मकैखेती लगाएको क्षेत्रफल आव २०८०/८१ मा ४४ हजार ३५० हेक्टर पुगेको छ । गहुँखेतीभन्दा मकै लगायत अन्य खेतीमा फाइदा हुने भएपछि गहुँखेतीप्रति किसानमा विकर्षण देखिएको सूचना अधिकारी भण्डारीले बताउनुभयो । रासस