२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात सहरमा प्रस्तुति दिन अमेरिकातर्फ नेपथ्य



अ+ अ-

काठमाडौं: अष्ट्रेलियाको सातवटा सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा हालै लोकरक प्रस्तुत गरेको नेपथ्यले अब अमेरिकाको सातवटा सहरमा कन्सर्ट गर्ने भएको छ । संगीतमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई नेपालीपनका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्य अमेरिकाको शृंखलाबद्ध सांगीतिक यात्रामा निस्कँदै छ ।

अमेरिकामा नेपथ्यले यो सातौंपटक आफूलाई उभ्याउन लागेको हो । गत वर्ष पनि ब्याण्डले डेढ महिना लगाएर उक्त मुलुकको पूर्वीदेखि पश्चिमी किनारासम्मका सातवटा सहरमा शृंखलाबद्ध सफल प्रस्तुति दिएको थियो । यसपटक सात नयाँ सहरमा नेपथ्य प्रस्तुत हुँदै छ ।

तालिका अनुसार ब्याण्डले आगामी मे १७ तारिख टेक्सास राज्यको राजधानी अस्टिनमा आफूलाई उभ्याउने छ । उक्त सहरस्थित ‘इमोज् अस्टिन’ हलमा शृंखलाबद्ध यात्राकै पहिलो प्रस्तुति हुनेछ । टेक्सासमा सदैव उल्लेख्य दर्शक उपस्थिति पाउँदै आएको नेपथ्यले गत वर्ष यसै राज्यको डालास सहरमा आफूलाई उभ्याएको थियो ।

त्यसपछिको दोस्रो प्रस्तुतिका लागि ब्याण्ड दक्षिणवर्ती राज्य टेक्सासबाट एकैपटक क्यानाडासँग सिमाना जोडिएको उत्तरी किनारा वासिङ्टन राज्य पुग्नेछ । उक्त राज्यको सियाटल सहरमा मे २३ तारिखका दिन नेपथ्य प्रस्तुत हुनेछ । त्यहाँको ‘मुर थिएटर’मा बेलुकी ठीक सात बजे हलका ढोकाहरु खुला गरिने तालिका तय छ । विशाल तालहरु अनि हिउँले ढाकिएका पर्वतहरु देखिने सियाटल अमेरिकाकै सुन्दरतम सहरमध्येमा पर्छ ।

तेस्रो प्रस्तुतिका निम्ति भने ब्याण्ड फेरि थोरै तल ओर्लिएर क्यालिफोर्निया राज्यको सर्वाधिक जनसंख्या ओगटेको सहर लस एन्जलस पुग्नेछ । सिनेमा निर्माणका लागि विश्वमै अग्रणी मानिने हलिउड अटाएको यो सहरमा मे २६ तारिखका दिन यहाँस्थित ‘हाउस अफ ब्लुज’ मा ब्याण्डले लोकरक गीत सुनाउनेछ ।

त्यसपछि ब्याण्ड पेन्सिलभेनिया राज्यतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित पिट्सबर्ग सहरलाई यसपटक नेपथ्यले चयन गरेको छ । गत वर्ष ब्याण्डले यसै राज्यको ह्यारिसबर्गमा आफूलाई उभ्याएको थियो । मे ३१ तारिखका दिन पिट्सबर्गस्थित ‘रक्सिन थिएटर’मा ब्याण्ड प्रस्तुत हुनेछ ।

त्यसपछि भने ब्याण्ड पाँचौँ प्रस्तुतिका लागि फेरि उत्तरतर्फ उक्लेर सिकागो सहर पुग्नेछ । त्यहाँस्थित ‘दी भिक थिएटर’मा जुन ७ तारिखका दिन नेपथ्य कन्सर्ट तोकिएको छ । अमेरिकाकै तेस्रो ठूलो जनसंख्या समेटेको यो सहर ‘सिकागो सिम्फोनी अर्केष्ट्रा’ जस्ता संस्थाहरुको उपस्थितिका बीच कला र संस्कृतिका लागि पनि उत्तिकै प्रसिद्ध छ ।

सिकागोमा नेपथ्यका गीतहरु सुनाएपछि ब्याण्ड म्यासाचुसेट्स राज्यको राजधानी बोस्टन सहरतर्फ लाग्नेछ । सन् १६३५ मा अमेरिकाकै पहिलो स्कुल ‘बोस्टन ल्याटिन स्कुल’ स्थापनाको श्रेय पाएको यो सहर यतिबेला उच्च शिक्षाका लागि विश्वकै केन्द्र मानिन्छ । हार्वर्ड र एमआइटी जस्ता विश्वकै अग्रणी शिक्षालयहरु यसै सहरका देन हुन् । यस सहरको  ‘रोयल बोस्टन’ हलमा नेपथ्य जुन ११ तारिखका दिन प्रस्तुत हुनेछ ।

यसरी अमेरिकाका फरक फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको सहरमा उपस्थित भइसकेपछि अन्तिममा नेपथ्य नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुग्नेछ । नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको यो सहरमा वर्षेनि ‘नर्थ क्यारोलाइना फोक फेस्टिभल’ पनि आयोजना हुँदै आएको छ । यहाँको  ‘पिडमोन्ट हल’मा जुन १४ तारिखको साँझ ब्याण्डले यो वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ ।

नेपथ्यले सन् २००४ मा एरिजोना राज्यको फिनिक्स र राजधानी वासिङ्टन डिसीमा आफूलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरुमा ब्याण्डले न्यूयोर्कसानफ्रान्सिस्कोलस एन्जलसएटलान्टाडालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रुपमा सम्हाल्ने भएको छ ।

नेपथ्यसंगै ब्यान्डको व्यवस्थापन र प्राविधिक टोली पनि अमेरिका प्रस्थान गर्दै छ । मञ्चमा भने मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामाबेस गितारमा सुबिन शाक्यगितारमा निरज गुरुङमादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन् ।

अमेरिकाका सबै कन्सर्टमा दर्शकहरुले अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । त्यसका लागि नेपथ्यको आधिकारिक वेबसाइट  www.nepathya.com.np  मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।