२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर



अ+ अ-

काठमाडौँ।  स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सीताराम घिमिरेले जानकारी दिनुभयो ।

“दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, घिमिरेले भन्नुभयो, “सहभागीहरुले विवाइडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।” काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।

सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवं प्रवर्द्धन अभियन्ता लौरेश्वर बाबाले बताउनुभयो । “माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ”, उहाँले भन्नुभयो ।

चारपाङ्ग्रे सवारीमै बसेर सगरमाथा हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगङ्गालगायत हिमाल तथा चुचुराहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुँरासको घना जङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ । स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मीलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।

स्पार्क एड्भेञ्चरको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरीटाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरीटापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृङ्खलाको दृश्यावलोकनपछि दिउँसो रुम्झाटारमा पुगिनेछ ।

सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् । सो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुङ्गाको रुम्झाटारको होमस्टेमा रात बिताउने छन् । यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराईको भनाइ छ ।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समुदायको बाहुल्य रहेको रुम्झाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्झाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्‍याइन्थ्यो । कार्यक्रमको तेस्रो दिन सहभागीहरु काठमाडौँ फर्कनेछन् ।

प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भीरमौरीको मह सिकार अवलोकनलाई प्रवर्द्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सिमानामा रहेको शैलुङको पर्यटन प्रवर्द्धन गरेको थियो ।

साहसिक पर्यटनका क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ । रासस