२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मण्डलाले घोषणा गर्यो एघार नाटक निर्देशक



अ+ अ-

काठमाडौँ । मण्डला नाटकघरले आगामी वर्ष मञ्चन हुने ११ वटा नयाँ नाटकका निर्देशकको नाम सार्वजनिक गरेको छ । नयाँ शृङ्खलाअन्तर्गत उक्त निर्देशकहरूले नाटक निर्देशन गर्ने र निर्माणमा मण्डलाले सघाउने नाटकघरका अध्यक्ष अभिनेता दयाहाङ राईले जानकारी दिनुभयो । कलात्मक विविधता, प्रयोगशीलता र सामाजिक सन्देशलाई प्राथमिकता दिँदै तयार गरिएका ती नाटकहरू आगामी साउनदेखि एक वर्ष मञ्चन हने नाटकघरले जनाएको छ ।

“हामीले आफ्ना अग्रजबाट सिकेको सिकाइलाई नयाँपुस्तामा हस्तान्तरण गर्दैछौँ, त्यसैको एउटा प्रक्रिया पनि हो । हामीले घोषणा गरेको निर्देशकमा नयाँ पनि हुनुहुन्छ । छनोट भएका  निर्देशकहरूबाट दर्शकले पारिवारिक, प्रयोगात्मक, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा आधारित नाटक हेर्न पाउनुहुनेछ”, अध्यक्ष राईले भन्नुभयो ।

घोषणा गरिएका निर्देशकहरूमा मण्डला नाटकघरको आन्तरिक समूहबाट निर्देशक बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी हुनहुन्छ । यस्तै, आमन्त्रित निर्देशकहरूमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, सङ्गीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी हुनहुन्छ ।

अध्यक्ष राईले यसवर्ष अनुप बराल र किरण चाम्लिङ राईका नाटकहरू पनि मण्डलामा मञ्चन हुने जानकारी दिनुभयो । यसका साथै मण्डलाले टिकटको मूल्य पनि बढाएको छ । जसअनुसार नाटक मञ्चनको पहिलो साता विद्यार्थीका लागि ३०० रुपैयाँ र सामान्य दर्शकका लागि ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । त्यस्तै, अन्तिम दुई हप्ताका लागि विद्यार्थीले ५०० रुपैयाँ र सामान्य दर्शकले १००० रुपैयाँ तिरेर नाटक हेर्न सक्नेछन् ।

नयाँ टिकट शुल्क निर्धारण गर्नुको कारणबारे अध्यक्ष राईले अन्तरराष्ट्रिय प्रचलन, नाटकघरको दिगोपन र दर्शकलाई सुरुमै नाटक हेर्न बानि बसाल्नु रहेको बताउनुभयो ।

“हामीले झन्डै छ वर्षदेखि शुल्क बढाएका छैनौँ । यो भइरहेको मूल्यवृद्धिका कारण हो । यसले हामीलाई उक्त शुल्क बराबरको नाटक मञ्चन गर्नुपर्ने दायित्व पनि थपेको छ । हाम्रो आयस्रोत टिकटकै रकम भएकाले हामीले अझैँ मेहनत गर्नु जरुरी छ”, अध्यक्ष राईले स्पष्ट गर्नुभयो ।

उक्त शृङ्खलाअन्तर्गत आगामी जेठदेखि सोमनाथ खनालको निर्देशनमा तयार हुँदैगरेको नाटक मञ्चन हुनेछ, जसमा अभिनेता सरोज खनाल, सरिता गिरी, सरस्वती चौधरी, शुशाङ्क मैनाली लगायतले अभिनय गर्नुहुनेछ । हाल उक्त नाटकको अभ्यास चलिरहेको छ ।