२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौं । अमेरिका र साउदी अरबबीच १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणका क्रममा अमेरिका र साउदीबीच रक्षा सम्झौता भएको हो ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ । दुई देशबीच भएको यो सम्झौता इतिहासकै ठूलो रक्षा सम्झौता भएको ह्वाइट हाउसले जनाएको छ । सम्झौतामा राष्ट्रपति ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा वायु सेनाको उन्नति र अन्तरिक्ष क्षमता, हवाई तथा क्षेप्यास्त्र रक्षा, समुद्री तथा तटीय सुरक्षा, सीमा सुरक्षा र स्थल सेनाको आधुनिकीकरण तथा सूचना तथा सञ्चार प्रणालीको स्तरोन्नति लगायतका विषय समावेश छन् । त्यस्तै दुई देशबीच ऊर्जा, खनिज स्रोत, संक्रामक रोगसम्बन्धी सहयोग लगायत विषयमा पनि सहमति भएको छ ।

दुई देशबीचको सम्झौतामा हस्ताक्षर गर्ने क्रममा राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानलाई साथीको रूपमा सम्बोधन गरेका थिए ।

साउदी अरबले ‘अमेरिकामा लगानी गर्ने प्रतिबद्धता’ समेत जनाएको ह्वाइट हाउसले उल्लेख गरेको छ । अमेरिका वरपरका कृत्रिम बुद्धिमत्ता तथ्यांक केन्द्रमा साउदीको २० अर्ब डलरको लगानी छ । अमेरिकी प्रविधि फर्महरूबाट दुवै देशमा अत्याधुनिक रूपान्तरणकारी प्रविधिमा ८० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, साउदी अरबले १४ अर्ब २० करोड डलरको ग्यास टर्बाइन र ऊर्जा समाधान तथा ४ अर्ब ८० करोड डलरको बोइङ ७३७–८ यात्रुवाहक विमान निर्यात गर्ने भएको छ ।

गत २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै भएको एक टेलिफोन कुराकानीमा साउदी युवराज एमबीएसले चार वर्षभित्र अमेरिकामा ६ खर्ब अमेरिकी डलर लगानी गर्ने वाचा गरेका थिए । सन् २०१७ मा ट्रम्पले १ खर्ब १० अर्ब डलरको सैन्य उपकरणसहित ४ खर्ब ५० अर्ब डलरभन्दा धेरैको सम्झौता भएको दाबी गरेका थिए । यसपटकको भ्रमणबाट ट्रम्पले साउदी अरबबाट १० खर्ब डलरसम्मको लगानी भित्र्याउने बताइएको छ ।

ट्रम्पले खाडी राष्ट्रबाट हुने लगानीले अमेरिकामा रोजगारी सिर्जना गर्न मद्दत गर्ने बताएका थिए । ‘मलाई साँच्चै विश्वास छ कि हामी एकअर्कालाई धेरै मन पराउँछौं,’ ट्रम्पले युवराज सलमानलाई भनेका थिए । त्यसक्रममा ट्रम्पले सन् २०१७ मा पहिलो कार्यकालमा गरेको साउदी भ्रमण पनि सम्झिएका थिए ।

राष्ट्रपति ट्रम्प पश्चिम एसियाको चार दिने भ्रमणका क्रममा मंगलबार साउदी अरबको राजधानी रियाद पुगेका हुन् । ट्रम्पसहितका वरिष्ठ अमेरिकी अधिकारीलाई साउदी युवराज मोहम्मद बिन सलमान (एमबीएस) ले किङ खालिद विमानस्थलमा स्वागत गरेका थिए ।

आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा उनले साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्केका हुन् । पोप फ्रान्सिसको अन्तिम संस्कारमा सामेल हुन अप्रत्यासित रूपमा २७ अप्रिलमा भ्याटिकन पुगेका भए पनि ट्रम्पको साउदी भ्रमण दोस्रो कार्यकालको पहिलो कूटनीतिक भ्रमण हो ।

यसअघि अमेरिकी राष्ट्रपतिले बेलायत, क्यानडा वा मेक्सिको भ्रमण गर्ने परम्परा तोड्दै ट्रम्पले साउदी अरबलाई रोजेका हुन् । अमेरिकी राष्ट्रपतिको पहिलो विदेश भ्रमणले अमेरिकी विदेश नीतिको प्राथमिकता झल्काउने ठानिन्छ । त्यसकारण ट्रम्पले औपचारिक रूपमा पहिलोपटक कुन देशको भ्रमण गर्छन् भन्नेमा चासो थियो ।

राष्ट्रपति ट्रम्पको यो भ्रमण व्यापारमा केन्द्रित देखिएको छ । ट्रम्प अर्गनाइजेसनले साउदी अरबमा आफ्नो घर जग्गा साम्राज्य विस्तार गर्ने योजनामा छ । त्यस्तै राष्ट्रपति ट्रम्पले पश्चिम एसियाली साझेदारसँग सम्बन्ध बलियो बनाउन खोजिरहेका छन् । गत फेब्रुअरीमा साउदी सरकारी निकायले अमेरिकाको मियामीमा गरेको लगानी सम्मेलनमा पनि ट्रम्पले उक्त योजनाबारे बोलेका थिए ।




भर्खरै