१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्या बारे प्रधानमन्त्रीले मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्दछ– बामदेव गौतम



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।

राम जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति प्रमाणित विषय नभएको भन्दै नेता गौतमले यो अभिव्यक्तिबाट राष्ट्रिय अन्तर्राष्ट्रिय विवाद सिर्जना भएकाले फिर्ता लिँदै जनतासमक्ष आत्मआलोचना गर्नु उपयुक्त हुने बताएका हुन् ।

नेता गौतमले फेसबुकमार्फत बरु प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई यसबारेमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । 

नेता गौतमले मंगलबार फेसबुकमा के लेखेका छन् हेर्नुहोस् :

नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क.केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आज भन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो बिषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफुले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै विना अनुसन्धान, विना तथ्य प्रमाण यस्तो विषयलाई तपाईले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण विना त्यसलाई सार्वजनिक गरेरै छोड्नु भयो ।

क.केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँ चाहदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नु पर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौ । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रसंशा गरिरहिने छ । संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्याउने क्रियाकलाप गर्न कसैले हुदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौ ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।

३० असार, २०७७