काठमाडौँ। सरकारले प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकबाट विभिन्न चारवटा महत्त्वपूर्ण विधेयक पारित गर्ने तयारी गरेकाे छ ।
बैठक आज बिहान ११ बजेका लागि बाेलाइएकाे छ । बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएकाे छ ।
संसद कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि मन्त्री गौतमले नै यसलाई पारित गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सो विधेयकमाथिका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थ मन्त्री वाग्लेले विधेयक पारितका लागि प्रस्ताव गर्ने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
पाण्डेयका अनुसार बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विधेयकहरू पनि निर्णयार्थ पेस गरिनेछन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्नेछिन् । संसदले प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरेपछि मन्त्री रावलले यसलाई पारित गरियोस् भनी सदनमा प्रस्ताव लैजाने सम्भावित कार्यसूची रहेकाे छ ।
त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । उक्त विधेयकमाथि परेका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिसकेपछि मन्त्री मेहताले विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव गर्नेछिन् ।













