२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो



अ+ अ-

गोरखा। जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।

छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो । काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।

“हामीले नौ दिन लगाएर उत्खनन ग¥यौँ”, विभागका अधिकृत अधिकारीले भन्नुभयो, “यहाँ भग्नावशेषको भाग, इँटाको गारो, थाम राख्न प्रयोग भएका ढुङ्गा, जगको ढुङ्गा, ठाउँठाउँमा नासिएको, ठाउँठाउँमा बचेको भेटियो । तामाको दियो, सिक्काहरू पनि भेटिएका छन्, धातुका वस्तु पछिका हुन सक्छन् । इँटा, ढुङ्गा, मन्दिरको डिजाइनलगायत अध्ययन गर्दा यो सत्रौँदेखि अठारौँ शताब्दीमा बनेका हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ ।” यसपटक समयसीमा र प्राविधिक कारण उत्खनन पूरा हुन नसकेको उहाँले बताउनुभयो ।

सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । “गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा, पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको कतिपय भाग नष्ट भएको छ । त्यसैले यसको अध्ययन गर्न कठिन भइरहेको छ”, अधिकारीले भन्नुभयो, “अहिलेको कार्यादेशअनुसार उत्खननको समय र सीमा समाप्त भइसकेको छ तर, अझै सकिएको छैन । अब अर्को वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिने छौँ ।”

उहाँका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ । “जग हेर्दा इँटा, ढुङ्गाबाट निर्माण भएको र झिङ्गटीले छाएको कम्तीमा दुई तलाको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने यकिन हुन्छ”, उहाँले भन्नुभयो ।

विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिनुभयो । “दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौँ । यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ”, उहाँले भन्नुभयो ।

हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उहाँले जानकारी दिनुभयो । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ । रासस




भर्खरै