२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उषा शेरचनको कविता : म तिमीलाई खुला आकाश दिन्छु



अ+ अ-

आँखीझ्यालबाट हेरेर
यो सीमित संसार
अँध्यारो कुवाभित्र रुङेर
यो सानो संसार

कुँजिरहेछु म
छट्पटाईरहेछु म
निस्सासिरहेछु म

छोरी !
तिमीलाई अव
यो आँखीझ्यालबाट देखिने
सीमित संसार मात्रै हेरेर बस
कदापि भन्दिनँ म
यो सानो कुवाभित्रको
भ्याकुता मात्रै बनेर बाँच
कदापि भन्दिनँ म

लत्याउ
पर्खालभित्रका हैकमी आदेशहरु
फुकाल
बुँलाकि र कल्लीहरु
छिनाल
सदियौँदेखि
बाँधिराखेका
यी पावन्दीका दाम्लाहरु
खोल
युगौँदेखि
थुनिराखेका
यी पिँजडाका ढोकाहरु
र,
स्वतन्त्र भएर उड
उन्मुक्त भएर उड

अचानो बन्न अस्विकार गर्दै
खुकुरीको धार आफैँ बन्नू तिमी
गलत इतिहास मेटाउँदै
नयाँ इतिहास आफैँ रच्नू तिमी

सधैँभरि कुरीतिको
कालकोठरीमा
दविएर बस्न अभिशप्त
तिम्रा इच्छा र आकांक्षाका
गुलावी फूल सिउरेर

सधैँभरि समाजको
बलिबेदीमा चढ्न अभिशप्त
तिम्रा सपना र चाहनाका
इन्देणी माला पहिरेर

मैले उघार्न नसकेको क्षितिज
उघार्न जाउ तिमी
मैले हेर्न नपाएको संसार
हेर्न जाउ तिमी
मैले छुन नभ्याएको आकाश
छुन जाउ तिमी

उठ छोरी, उठ…..
म तिमीलाई सुनौलोे बिहानी दिन्छु !

उड छोरी, उड….
म तिमीलाई खुला आकाश दिन्छु !!
म तिमीलाई खुला आकाश दिन्छु !!!