२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा



अ+ अ-

गलेश्वर । म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ ।

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ । जिल्लाको अन्तिम गाउँ गुर्जा छन्त्याल जातिको ठूलो बस्ती भएको गाउँ हो । यो गाउँलाई छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल भनेर पनि चिनिन्छ ।

पछिल्लो समय गुर्जा गाउँ आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ। त्यसपछि धेरैका लागि रहस्य बनेको गुर्जा गाउँमा सदरमुकाम बेनी बजारबाट एकैदिनमा जाउआउ गर्न सकिने छ ।

वडाध्यक्ष छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । अब गाउँ पुग्न पाँच किलोमिटर मात्र बाँकी छ । “गुर्जा सडक सञ्जालसँग जोडिएपछि धेरैको गुर्जा पुग्ने सपना पूरा हुनेछ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले रु दुई-दुई करोड बजेट विनियोजन गरेर रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले पनि धमाधम काम भइरहेको छ ।

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा गाउँमा २०८२ साल सुरु भएपछि व्यक्तिगत र संस्थागत रूपमा भ्रमण गर्नेको संख्या बढेको छ । सदरमुकाम बेनी बजारका केही संस्था गुर्जा पुगेर विभिन्न किसिमका कार्यक्रम पनि गरेका छन्त्यालले बताउनुभयो । केही दिन अघिमात्र म्याग्दी जेसिजको एक टोली गुर्जा पुगेर फर्केको छ । “गुर्जा गाउँ पर्यापर्यटन र सांस्कृतिक तथा जैविक विविधताका लागि अध्ययन अवलोकन गर्न खुला विश्वविद्यालय जस्तो रहेछ”, जेसी सुमन बानियाँले बताउनुभयो ।

यो गाउँमा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका प्रशस्तै खजाना रहेका हालै गुर्जाको भ्रमण गरेर फर्किनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “गुजमुज्ज परेका परम्परागत शैलीका सफा र चिटिक्कका घर, रहरलाग्दो पशुपालन, विषादी र रासायनिक चिजहरूको प्रयोग नगरीकन फलाइने ‘अग्र्यानिक’ उत्पादन, चारैतिर हरिया वनजङ्गल, भीडभाड र कोलाहल मुक्त परिवेश, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल समुदाय, गुर्जा साच्चिकै आकर्षक स्थल हो, यो जीवनमा एकपटक पुग्ने पर्ने ठाउँ हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता नै गुर्जाको विशेषता हो । यहाँ वैशाखदेखि जेठको पहिलो सातासम्म व्यक्तिगत, संस्थागत र राजनीतिक भेटघाट वा कार्यक्रमका लागि गरी १०० बढी आन्तरिक पर्यटक पुगिसकेका स्थानीय कमल छन्त्यालले बताउनुभयो ।

गुर्जा गाउँलाई ‘एडभेन्चर ट्रेल हब’का रूपमा विकसित गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यहाँबाट ढोरपाटन, पुथा र चुरेन हिमालको आधार शिविर हुँदै एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्गसमेत पहिचान गरी प्रयोगमा ल्याउने पहल भइरहेको छ । रासस