२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीले परिपक्व उमेरमा विवाह गर्न थाले, युवाहरू विदेशीने क्रम जारी रहनु चिन्ताजनक



अ+ अ-

काठमाडौँ । नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो ।

पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ । नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार वि.सं. २०१८ र २०७८ बिचको समयावधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत विन्दुले वृद्धि भएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताउनु भयो । उहाँले २०१८ को अविवाहित पुरुषको अंश २८ प्रतिशत रहेकोमा २०७८ मा ३८ प्रतिशत पुगेको छ छ भने सो अवधिमा अविवाहित महिलाको अंश १५ प्रतिशतबाट बढेर २८ प्रतिशतमा पुगेको जानकारी गराउनु भयो ।

यस्तै, पछिल्लो ६० वर्षमा विवाहित पुरुष र महिलाको अनुपात क्रमशः करिव ६ र ५ प्रतिशत विन्दुले घटेको छ । विवाहित पुरुष र महिलाको अनुपातमा देखिएको सो गिरावट सोही अवधिमा देखिएको अविवाहित पुरुष तथा महिलाको अनुपातमा भएको वृद्धिसँग समानुपातिक नदेखिएको निर्देशक आचार्यले बताउनु भयो । उहाँले सहरी क्षेत्रको तुलनामा ग्रामीण र अर्धसहरी क्षेत्रमा विवाहित पुरुष तथा महिलाको अनुपात बढेको देखिएको छ । यस्तै, सहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात ग्रामीण र अर्धसहरी क्षेत्र भन्दा बढी देखिएको उहाँले बताउनु भयो ।

२०७८ को जनगणनाअनुसार नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेको कार्यालयले जनाएको छ । सङ्ख्याका आधारमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् । यस्तै, नेपालमा ३ दशमलव २ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेको कार्यालयका निर्देशक आचार्यले बताउनु भयो । उहाँले २०४८ देखि २०७८ को जनगणना अवधिमा हिन्दु धर्म मान्ने जनसङ्ख्याको प्रतिशतमा गिरावट आएको बताउनु भयो । तर २०५८ को तुलनामा २०६८ को जनगणनाका बीचमा थोरै वृद्धि भएको देखिएको छ ।

कार्यालयकाअनुसार नेपालको जनसङ्ख्याको २० दशमलव १ प्रतिशत दशदेखि १९ वर्ष उमेर समूह, १९ दशमलव ७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरीहरू रहेका छन् । नेपालमा किशोर–किशोरी जनसङ्ख्या २०१८ मा १८ लाख ७० हजार रहे पनि २०६८ मा ६४ लाख १० हजार पुगेको थियो । तर २०७८ को जनगणन अनुसार यो सङ्ख्या घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ । किशोर–किशोरीको जनसङ्ख्या युवाको तुलनामा केही बढी रहेको देखिए पनि अघिल्लो दशकमा आएको गिरावटका कारण भविष्यमा युवाहरूको जनसङ्ख्या पनि घट्दै जाने देखिएको कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइसराइ र पढ्न जाने ट्रेन्ड देखिएको बताउनु भयो । उहाँले विदेशबाट युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो । युवाहरूको जनसङ्ख्या घट्नु तथा काम गर्ने उमेर समूहका युवाहरू घट्नु क्रियाशील उमेर घट्नु रहेको बताउँदै यसले उत्पादन घटाउने बताउनुभयो । उहाँले उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्ने बताउँदै यसले उमेरको हद विस्तारै ओरालो लाग्ने धारणा राख्नुभयो । उहाँले अब पनि केही नगर्ने हो भने पछि परिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरी १५–२४ का बच्चाहरूको ध्यान कता गएको छ ? देशतिर छ कि देश बाहिर छ ? यो तथ्याङ्कले केही न केही देखाउँछ । १५–२४ का युवाहरूको जुन इन्टरनेशनल माइग्रेसन छ, बाहिर पढ्न जाने ट्रेन्ड छ, यसले देखाउँछ । हाम्रो युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको छ । हाम्रो जनसङ्ख्याको बनोट विस्तारै घट्दो गतिमा जान लागेको छ । युवाहरूको जनसङ्ख्या घट्नु, काम गर्ने उमेर समूहका युवाहरू घट्नु भनेको क्रियाशील उमेर घट्नु हो । त्यसले उत्पादन घटाउँछ  । उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्छ र हाम्रो उमेरको हद विस्तारै ओरालो लाग्दछ । यसले हामीलाई छिटो विकास गर, गरेनौँ भने पछि पर्छौ भनेर घचघचाइरहेको छ ।”  

राष्ट्रिय जनगणना २०७८ अनुसार १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाईंसराइ गरेको देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।




भर्खरै