२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकामा नाट्टाको असन्तुष्टि



अ+ अ-

काठमाडौँ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

नाट्टाका महासचिव युविका भण्डारीले आज विज्ञप्ती जारी गरी सरकारद्वारा सार्वजनिक गरिएको आव २०८२/८३ को वार्षिक बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

“दुई वर्षदेखि निरन्तर रूपमा सरकारसमक्ष उठाइएका विविध विषयमध्ये विशेषतःराष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी जटिल र प्रतिकूल व्यवस्थालाई निरन्तर बेवास्ता गर्दै आइएको अवस्थामा, यस वर्ष पनि सो कर कायम राखिएकामा पर्यटनसम्बद्ध सरोकार भएका सबैलाई स्तब्ध बनाएको छ”, विज्ञप्तीमा भनिएको छ ।

प्रस्तुत बजेटले पर्यटन क्षेत्रका विभिन्न पक्षमा सकारात्मक नीति र व्यवस्था ल्याएको देखिएको बताउँदै महासचिव भण्डारीले नेपाल प्रवेशको सुरुआती चरणमा पर्ने हवाई सेवामा प्रत्यक्ष असर गर्ने भाडादरमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रबन्धले पर्यटकको आवागमनमा निरुत्साहित गरेको धारणा राख्नुभयो ।

“पर्यटकको सम्पूर्ण भ्रमण खर्चको तीन चौथाइभन्दा बढी हवाई यात्रामा खर्च हुने अवस्था सिर्जना भएको छ । पर्यटकको यथेष्ट आवागमनबिना बजेटमा पर्यटन प्रवर्द्धनसम्बन्धी उल्लेख गरिएका सकारात्मक पक्ष ओझेलमा पर्नसक्ने र तिनको कार्यान्वयनमा प्रत्यक्ष अवरोध आउने सम्भावना रहन्छ । जसले गर्दा ती व्यवस्था केवल घोषणामा सीमित रहने सम्भावना प्रबल देखिन्छ”, महासचिव भण्डारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

नाट्टाले अर्थमन्त्री, पर्यटनमन्त्री, सांसद तथा विभिन्न राजनीतिक दलका नेताले सार्वजनिक मञ्चमा हवाई भाडामा लाग्ने भ्याट अत्यन्त अनुचित रहेको, यसले अन्तरराष्ट्रिय मूल्य मान्यतासँग मेल नखाने, पर्यटन प्रवर्द्धनमा प्रतिकूल असर पार्ने र भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नेपालीको हवाई पहुँचमा बाधा पुर्‍याउने भन्दै भ्याट खारेजीका पक्षमा धारणा राख्दै आएपनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

हवाई भाडामा लगाइएको भ्याट खारेजीको प्रक्रिया नथाल्नुले सरकार पर्यटन उद्योगप्रति उदार र गम्भीर नदेखिएको नाट्टाले जनाएको छ । नाट्टाले आव २०८०/८१ देखि निरन्तर रूपमा हवाई भाडादरमा लागू भ्याट हटाउनका लागि पहल लिँदै आएको छ । रासस