२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान



अ+ अ-

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालका उर्जा उत्पादक निजी क्षेत्रलाई सिध्याउने हिसावले सरकार अघि बढेको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी इप्पानले निजी क्षेत्रलाई पनि सिध्याउने र नेपालको उर्जा क्षेत्रलाई सधैँका लागि ध्वस्त पार्नेगरी सरकारले विद्युतका क्षेत्रमा बजेट ल्याएको आरोप लगाउनुभएको हो ।

उहाँले बजेटले खपतको कुरालाई नसमेटेको र विक्री गर्ने कुरालाई पनि नछोएको बताउनु भयो । यसले सरकार बिजुली बढी भयो र अब पुग्यो भन्ने दिशातर्फ गइरहेको उल्लेख गर्नुभयो । भविष्यमा बिजुली बेच्दा नेपालले नै उत्पादन गरेर बेच्ने नभइ ठूला भारतीय कम्पनीहरु ल्याएर आफूलाई चाहिने उत्पादन गरेर लैजाने परिस्थिति देखिएको बताउनु भयो । सरकार सधैँ हिउँदको महिनामा भारतबाटै बिजुली किनेर ल्याएर नेपालको लोडसेडिङ अन्त्य गर्ने सोचका साथ अघि बढेको देखिएको बताउनु भयो । निजी क्षेत्रका उर्जा उत्पादकहरुलाई सरकारले एउटा कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका नै बन्द गरिदिएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘हामीले कहीँ न कहीँ १० हजार मेगावाट बेच्ने भनेर एग्रिमेण्ट त गरेका छौँ । तर यो बजेटले बिजुली कसरी दिने भन्नेकुरा परिकल्पना गरेको जस्तो लाग्दैन । आजको दिनमा पिपिए रोक्दा १० हजार मेगावाट दिनसक्छौँ भन्ने मलाई लाग्दैन । त्यत्तिकैमा अर्को सोलारको लागि अघि बढाउने र स्टोरेज प्रोजेक्टलाई अघि बढाउने भनेपनि कुनैपनि पिपिए हुँदैन । खपत र उत्पादन भन्नेबित्तिकै खपतको आजको कुरा गर्दा त हामीसँग अहिले नै बिजुली बढी भयो भन्ने खालको छ । बिजुली बढी भयो र यसलाई बेच्न सक्छौँ । यसको बजार छ भनेर बजेटमा कतै परिकल्पना गरेको देखिँदैन । सरकारले लाइसेन्स दियो, अघि बढायो, राम्रो सपना देखायो । सँगै नेपालका निजी क्षेत्रहरुले यसमा अघि बढे । झन्डै ३ सय ५० वटा कम्पनीले लगानी गरेका छन् । १७ हजार १ सय १७ मेगावाट आयोजनाहरु प्रभावित हुने देखिन्छ । ६६ अर्ब भन्दा बढी खर्च भइसकेको छ ।’

‘यो कसरी अघि बढ्छ र जनताको लगानी के हुने हो ? भन्नेकुरा पनि यसले ठूलो प्रश्नचिन्ह खडा गरेको छ । हामीले भोलिको दिनमा बिजुली बेच्दा हामीले उत्पादन गरेर बेच्छौँ भन्ने परिकल्पना पनि यसले गरेन । भोलिका दिनमा ठूला ठूला भारतीय कम्पनीहरु आउने होलान् । उनीहरुलाई चाहिने बिजुली उनीहरुले उत्पादन गरेर लैजाने जस्तो परिकल्पना गरेको देखिन्छ । हामीले सधैँ हिउँदको महिनामा भारतबाटै बिजुली किनेर ल्याएर नेपालको लोडसेडिङ अन्त्य गर्ने सोचका साथ अघि बढेको जस्तो देखिन्छ । किनभने उत्पादन नै नगर्ने हो भने कसरी लोडसेडिङ अन्त्य हुन्छ ? नेपालका निजी क्षेत्रहरुलाई सिध्याउने, अब सिद्धिन त सिद्धिहाल्ने भए । निजी क्षेत्रलाई पनि सिध्याउने र नेपालको उर्जा क्षेत्रलाई सधैँका लागि ध्वस्त पार्ने भन्नेखालको कुरा यसबाट स्पष्ट हुन्छ । सरकारले खुला छोडेको भए त अहिलेसम्म ५० हजार मेगावाट भइसक्थ्यो होला । सरकारले एउटा कोठाभित्र बोलाएर हामीलाई ढोका लाइदियो । अब कहीँ जाने बाटो बनाएन । अब ढोका फोरेर निस्किनुपर्ने हो की झ्याल फोरेर निस्किनुपर्ने खालको वातावरण बनाइदिएको छ । अर्थमन्त्रीज्युले हिजो संसदमा पनि बोल्नुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ । निजी क्षेत्रलाई अघि बढाउँदा बढाउँदै निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि ल्याइनेछ भन्नुभयो । वास्तवमा यो कुरा सुनेको हामीले १० वर्ष भइसक्यो ।’

अध्यक्ष कार्कीले सरकारले बारम्बार निजी क्षेत्रलाई विद्युत व्यापारमा पनि सँगै अघि बढाइनेछ भन्ने गरेपनि व्यवहारतः पुष्टि हुन नसकेको जिकिर गर्नुभयो ।