२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको ढिलासुस्तीले सर्वसाधारणले पाए सास्ती



अ+ अ-

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प प्रस्तुत नगर्दा सवारी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

गत वर्षको पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको पुन अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको थियो । पुल भाँचिएपछि पुलभन्दा उत्तरबाट डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो । तर केही हप्तामै भारी वर्षा हुँदा डाइभर्सन बगाएर पूर्व–पश्चिम राजमार्गको यातायात र ढुवानी सेवा अवरुद्ध भएको थियो । पुल सञ्चालनमा नआउँदा सम्मका लागि डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि स्थानीयले मालवाहक ट्रक चल्न नदिएपछि समस्या निम्तिएको हो ।

भैरहवा–काठमाडौं रुटमा ना ५ ख ७४११ नम्बरको ट्रक चलाउँदै आउनुभएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै हुनुहुन्छ । असार ८ गते भैरहवाबाट पूर्वपश्चिम राजमार्ग हुँदै पश्चिम नवलपरासीको बर्दघाट पुगेका उहाँ ४ देखि सडकमै दिन–रात बिताउन बाध्य हुनुभएको छ ।  दुम्किबासको डाइभर्सन बाढीले बगाएको भन्दै प्रहरीले रोकेपछि उहाँ सडकमै समय बिताइरहनुभएको हो । उहाँले आफूहरूले प्रशासनलाई आग्रह गरे पनि प्रशासनले नसुनेको दुखेसो गर्नुभयो ।

उनले भने, “हामी यो ठाउँमा आएको ४ दिन भयो । वीरगन्जबाट एक गते लोड गरेर भैरहवा हुँदै यो ठाउँमा आएर बसेको ४ दिन भयो । ४ दिन दुम्कीबास पारी नै खडा भएर बसियो । आज १० दिन भयो । १० दिनमा कति दुःख कति, सुख, कति गर्मी भोग्या होला । प्रशासनलाई भन्यौँ, प्रशासनले सुनेन । आज ४ दिन भइसक्यो घाम लागेर बसेको । प्रशासनले चाह्यो भने सबै पुल बनाएर आवतजावत गर्न सकिन्थ्यो । प्रशासनले गाउँलाई भनेको भए सबै गाडी पार भइसक्थ्यो ।”  

भैरहवाबाट काठमाडौँ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । ना ६ ख ३२८४ नम्बरको ट्रकका चालक न्यौपानेले सरकारले जनताका पीडा नसुनेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले थोरै गल्ती भए पनि यातायात चालकले टिपाइ खानुपर्ने, भोकै बस्ने भन्दै गुनासो गर्नुभयो । उहाँले  चार दिनसम्म सडकमा रोकिनुपर्दा आफ्ना चालक साथीहरू लामखुट्टेको टोकाइबाट डेंगु सङ्क्रमित भई अस्पताल भर्ना हुनुपरेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, “म चाहीँ दोष दिन्छु, माथि मन्त्रीहरूलाई । मन्त्रीहरूलाई यो थाहा छैन ? मन्त्रीहरूले यो देखेको छैन ? संसद्मा मात्रै कुरा उठाएर हुन्छ ? यातायात चालकका कारण देश धानिएको छ । यहाँ थोरै गल्ती भयो भने यातायात चालकले टिपाइ खानुपर्छ । भोकै बस्नुपर्छ । डेंगु लागिसकेको छ कतिपय चालकहरूलाई । कतिपय चालक बिरामी भइसकेका छन् । यस्तो घाम छ । अलिअलि भएको पैसा पनि सकिसक्यो । हेर्नुस्, कति कठिनाइ छ ।”  

ना ६ ख ३६९९ नम्बरको ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुवोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । चर्को गर्मीमा ४ दिनदेखि बर्दघाटमा बिताउनुपर्दा उनी सरकारसँग रुष्ट मात्रै होइन, प्रहरीले माथिको आदेश छैन भनेर रोक्दा आक्रोशित हुनुभएको छ । दश चक्के बसले आवतजावत गर्न पाउँदा आफूहरूले नपाएको बताउनु भयो । उहाँले ट्रक भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्न समेत नसकिएको गुनासो गर्नुभयो ।  उहाँले भन्नुभयो, “भैरहवादेखि आलु, प्याज लोड गरेर आएको ४ दिन भइसक्यो । दश चक्केसम्म गाडी जान दिने, बसहरू जान दिने । हाम्रो १२ चक्के जान नदिने । पुलिसलाई सोध्दा हामीलाई केही कुरा थाहा छैन, माथिबाट आदेश आएको छैन भन्छ । आलु प्याज बोकेको हाम्रो २२ वटा गाडी छ । सबै कुहिएर गइरहेको छ । गन्हाएर सुत्न सकिएको छैन ।”  

बर्दघाटमै रोकिएका अर्का ट्रक चालक ज्ञानबहादुर कार्कीले आफूहरूले कल्पना भन्दा बाहिरको सास्ती पाएको गुनासो गर्नुभयो । उहाँले यो सरकारको चरम लापरबाही भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले तदारुकता नदेखाउँदै आफूजस्तै सयौँ चालक र सर्वसाधारणहरूले सास्ती खेप्नुपरेको बताउनु भयो । उहाँले भन्नुभयो, “कल्पना भन्दा बाहिरको सास्ती छ । यो सरकारको चरम लापरबाही हो । अरू पुललाई एक साइड सुचारु गरेर भए पनि यसलाई तदारुकताका साथ लगाउनुपर्नेमा बेवास्ता गरेको देखियो ।” 

उहाँहरूजस्तै सयौँ चालकहरू अहिले सडकमै दिनरात कटाइरहनुभएको छ । सयौँ ट्रकहरूलाई सडकमै राखेर उहाँले सास्ती खेप्नुपरेको हो । कतिपय सवारीसाधनहरू बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा र मुग्लिङ हुँदै काठमाडौं जान समेत बाध्य भएका छन् । पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि निर्माण नहुनु तथा वैकल्पिक सडकको व्यवस्था नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो । बुटवल–नारायणगढ खण्डको दुम्कीवासस्थित विनयी खोलाको भाँचिएको पुललाई यहीँ असार भित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।