२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय ग्रिडसँग ६०७ मेगावाट जडानको सम्झौता, ट्रान्समिसन र प्रशारण लाइन सुधार्न सघाउ पुग्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत प्रवद्र्धक कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मङ्गलबार राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रिड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

राष्ट्रिय ग्रिड प्रशारण कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र पाँच जलविद्युत प्रवद्र्धक कम्पनीका प्रतिनिधिहरूबीच ग्रिड जडान सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ६०७ मेगावाट क्षमताका पाँच आयोजना – कालिकोटको ४४० मेगावाटको तिला ९१, बझाङका ७२ मेगावाटको मालुमेला सेतीनदी पिकिङ्ग, ५४ मेगावाटको महाकाली सेती अर्धजलाशय, ताप्लेजुङको ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ र गोरखाको ९.१४३ मेगावाटको सुपर दरौँदी आयोजना समावेश छन ।

आरपिजिसिएलले यी आयोजनाबाट उत्पादित बिजुलीलाई समयमै राष्ट्रिय ग्रिडमा जोड्ने योजना अनुरूप विभिन्न प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नेछ ।  यससँगे तिला आयोजना ४०० केभीको डबल सर्किट कर्णाली करिडोर प्रसारण लाइनमार्फत कालिकोटको फुकोट सबस्टेसनमा, मालुमेला र महाकाली सेती आयोजना ४०० केभी पश्चिम सेती करिडोरमार्फत बझाङको चैनपुर सबस्टेसनमा, अपर मेवा खोला ‘ए’ आयोजना १३२ केभी मेवा–ढुङ्गेसाँघु लाइनमार्फत मेवा सबस्टेसनमा र सुपर दरौँदी आयोजना १३२ केभी लाइनमार्फत केराबारी सबस्टेसनमा जडान गरिनेछ ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले अझै ऊर्जा क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै अब सरकारी–निजी क्षेत्रको सहकार्यलाई तीव्र रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । उर्जामन्त्री खड्काले ऊर्जा घरको बत्ती बाल्नका लागि मात्र नभइ समग्र राष्ट्रको आर्थिक र सामाजिक विकासका लागि आवश्यक रहेको बताउनुभयो । उहाँकाअनुसार समयमै ऊर्जा योजनाहरू कार्यान्वयन नगर्दा नेपाल पछाडि परेको छ । अब सरकारी र निजी क्षेत्रको सहकार्यबाट मात्र समाधान सम्भव छ ।

मन्त्री खड्काले विगतका अवरोधले ऊर्जा क्षेत्रमा सन्तोषजनक प्रगति हुन नसकेको बताउँदै आगामी दिनमा प्रसारण, वितरण र विद्युत् व्यापारमा समेत निजी क्षेत्रलाई सक्रिय साझेदार बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँकाअनुसार तीन दशकअघि नै अरुण तेस्रो जस्ता आयोजना अघि बढाइएको भए, न लोडसेडिङ हुन्थ्यो, न लगानीको अभाव । अब ढिलो गर्न पाइँदैन । सरकार वा प्राधिकरणले नभए निजी क्षेत्रसँग मिलेर भए पनि काम अघि बढाउनैपर्छ ।

उर्जामन्त्री खड्काले भन्नुभयो–‘आज एउटा महत्वपूर्ण उपलव्धि भएको छ । ट्रयाक ओपन जस्तो । अलिकति बाटो खनेपछि पिच गर्ने । गाडी स्पीडमा कुद्ने काम हुन थाल्छ । आज आरपिजिसिएलमार्फत प्राइभेट सेक्टरका साथीहरुलाई लिएर अघि बढिएको छ । यो भन्दा पहिले पनि तमोरमा सम्झौता गरेका थियौं । यो दोस्रो सम्झौता हो र यसलाई कार्यान्वयन चाँडो गर्ने गरी काम साथीहरुले काम गर्नुहोला । ट्रासमिसन लाइन क्षेत्रका लागि पनि एउटा ट्रायक ओपनको सुरुआती भएको छ । म शुभकामना व्यक्त गर्न चाहान्छु । सबैले तनमन लगाएर यस क्षेत्रको विकास कसरी हुन्छ, त्यता तर्फ सोचौं ।’

मन्त्री खड्काले विद्युतको सुरक्षा कसरी गर्न सकिन्छ त्यसबारे गम्भीर भएर सोच्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले निजी क्षेत्रसँगको सहकार्यले ऊर्जा विकासमा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो । आरपिजिसिएलको अध्यक्षका नाताले पनि सम्झौताबाट आफू खुशी भएको बताउनु भयो ।  सचिव आचार्यले भन्नुभयो–‘भविष्यमा हामीले उर्जा विकास मार्गचित्रको जुन महालक्ष्य छ । त्यो हासिल गर्नुपर्छ । यो हासिल गर्नका लागि निजी क्षेत्रसँग हातेमालो गर्नुपर्ने अवस्था छ ।’

विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले उत्पादनतर्फ प्रगति भएपनि प्रसारण र वितरणमा अझै प्राकृतिक एकाधिकार कायम रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रशारण पूर्वाधार निर्माणमा ल्याउन नियामक तहबाट आवश्यक संरचना बनाइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार विद्युत उत्पादनमा अहिले राम्रो भइरहेको छ तर प्रशारण र वितरणमा राम्रो छैन । विद्युत् नियमन आयोगका अध्यक्ष डा. धितालले भन्नुभयो– ‘वितरण र प्रशारण लाइन सुधान राज्यको रिर्सोस एकदमै कम छ । त्यसो हुँदा हामीलाई प्राइभेट इन्भेष्टमेन्ट मोभिलाइज गर्न जरुरी छ । त्यो पनि ट्रासमिसन र वितरणमा । ट्रासमिसन र वितरणको विजनेश मनोपोलिस्टिक नेचरको विजनेश हो । हामी त्यसलाई नेचुरल मोनोपोली पनि भन्छौं । नेचुरल मोनोपोलीमा हामीले प्रतिस्पर्धी वातावरण कसरी बनाउने सोच्ने भने आयोगले सोचिरहेको छ ।’ 

आरपिजिसिएलका सिइओ श्रेष्ठले कम्पनीले विभिन्न ११ वटा उच्च भोल्टेजका प्रशारण लाइन निर्माण अघि बढाएको र यसै वर्षभित्र २ वटा लाइन सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन, प्रशारण, खपत तथा निर्यात गर्ने लक्ष्य लिएको छ, जसका लागि १६ हजार सर्किट किलोमिटर प्रसारण लाइन र ४० हजार एमभिए क्षमताका सबस्टेसन निर्माण आवश्यक छ ।

प्रवद्र्धक कम्पनीका तर्फबाट बोल्दै एससी पावर कम्पनीका प्रमुख इमान सिंह गुरुङले विगतमा ‘झोलामा खोला बोकेका दलाल’ भनेर आलोचना भएपनि निजी क्षेत्रकै कारण जलविद्युत उत्पादनमा नेपालले फड्को मारेको बताउनुभयो । उहाँका अनुसार सरकारलाई कर, नागरिकलाई रोजगारी र समग्र आर्थिक सामाजिक विकासमा निजी ऊर्जा उद्यमीको योगदान अमूल्य रहेको छ ।