काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । मौदिक नीतिको तयारी पूरा भइसकेकाले अब आज बस्ने बोर्ड बैठकले त्यसको स्वीकृति गर्ने छ । त्यसलगत्तै सार्वजनिक हुने छ ।
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएपछि कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउने तयारी छ ।
आगामी आर्थिक वर्षको बजेट मार्फत नै घोषणा भएका कर्जाको पुनर्तालिकीकरण, खराब कर्जा व्यवस्थापनका लागि एसेट म्यानेजमेन्ट कम्पनी तथा डिजिटल बैंकको स्थापनको विषयमा मौद्रिक नीतिले सम्बोधन गर्ने बताइएको छ ।
यसअघि हिजो बसेको केन्द्रीय बैंकको व्यवस्थापन समितिमा गहन छलफलपछि प्रस्तावित मौद्रिक नीतिबारे सञ्चालक समितिमा समेत छलफल भएको थियो । सिञ्चालक समितिमा मौद्रिक नीतिको भूमिकामाथि छलफल भएको बताइएको छ ।
केन्द्रीय बैंकको हिजोको बैठकलाई निरन्तरता दिँदै आज बिहानैदेखि छलफल गरी मौद्रिक नीतिलाई अन्तिम रुप दिने तयारी छ ।











