२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्धारित समयभन्दा पाँच महिना अगावै पुल निर्माण



अ+ अ-

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीस्थित कुम्लेखोलामा निर्धारित समयभन्दा पाँच महिनाअगावै पुल निर्माण भएको छ ।

आगामी पुस १३ गते सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि त्यसको पाँच महिनाअगाडि नै पुल निर्माण भएको हो ।  प्रसिद्ध तीनखोले मन्दिर जाने बाटोमा पक्की पुल निर्माणपश्चात् आवतजावतमा सहयोग भएको छ ।

निर्माण व्यवसायीले पटक–पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्ति व्याप्त रहेका बेला यहाँ सम्झौता अगावै पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएको स्थानीय शङ्कर सारुले बताउनुभयो ।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल रु दुई करोड ८० लाख ५९ हजार ९७९ को लागतमा निर्माण गरिएको शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो ।

विसं २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मीले विसं २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । प्रालिका प्रतिनिधि गगन केसीले सबैको सहयोगले समयअघि नै काम सम्पन्न भएको जानकारी दिनुभयो ।

यो सडक खुलेको २७ वर्ष भएको छ । पृथ्वी राजमार्गबाट तीन किलोमिटरको दूरीमा अवस्थित तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा पक्की पुल नहुँदा बर्खामा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए । बर्खामा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय बालकुमार वाग्लेले बताउनुभयो ।

खेरैनीटार बजारबाट कुम्लेखोला तरेर प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ । यहाँ पुल निर्माण भएपछि अब मन्दिर जाने भक्तजनको सङ्ख्यासमेत बढ्ने मोटरमार्ग उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका वाग्लेको विश्वास छ ।

शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बर्खामा ह्युमपाइप राखेर सवारी सञ्चालन गरे पनि खोला बढ्दा ह्युमपाइप नै बगाउने गरेको स्मरण गर्नुभयो ।

उक्त पुलको शनिबार पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले उद्घाटन गर्नुभएको थियो । रासस