२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अम्रिसोखेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।

वनको झण्डै ३५ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अम्रिसोखेती गर्दै समूहले वन संरक्षणसँगै आर्थिक समृद्धि हासिल गरिरहेको छ । वन कार्यालयका सचिव दामोदर जोशीका अनुसार सामुदायिक वनमा करिब डेढ दशकअघि सुरू गरिएको अम्रिसोखेतीलाई पछिल्लो छ वर्षदेखि व्यवस्थित र व्यावसायिक बनाइएको हो ।

“गएको असारसम्म सात हजार कुचो बिक्री गरेर रु तीन लाखभन्दा बढी आम्दानी ग¥यौँ”, जोशीले भन्नुभयो, “अघिल्लो वर्ष कुचो बिक्रीबाट रु दुई लाख मात्र आम्दानी भएको थियो ।”

वनबाट सङ्कलन गरिएको अम्रिसोबाट स्थानीय उपभोक्तालाई रोजगारी दिइएको छ । “अम्रिसो सङ्कलनदेखि उपभोक्तालाई नै झाडु (कुचो) बनाउन लगाइन्छ”, जोशीले भन्नुभयो, “प्रत्येक झाडु बनाउँदा उनीहरूले रु १५ पारिश्रमिक पाउँछन् भने बजारमा रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ ।”

समूहका अध्यक्ष इश्वर बुढाका अनुसार बजारमा अम्रिसोको झाडुको माग उच्च छ । स्थानिय बजारमै सहज बिक्री हुन्छ । यद्यपि वन क्षेत्रमा अम्रिसोखेतीको क्षेत्र विस्तारका साथसाथै जङ्गली हात्तीको समस्या पनि बढ्दै गएको छ ।

“हात्तीले नोक्सानी गर्दा यस वर्ष केवल रु तीन लाख बराबरको झाडु मात्र बिक्री हुन सक्यो”, अध्यक्ष बुढाले भन्नुभयो, “अम्रिसोको आकर्षणले गर्दा हात्तीको बथान बस्ती छिर्न थालेको छ, त्यसैले अम्रिसोखेतीलाई चुरे क्षेत्रतर्फ सार्ने योजना बनाएका छौँ ।” हात्तीले नोक्सान नगर्ने हो भने रु १५ देखि रु २० लाखसम्मको झाडु उत्पादन गर्न सकिने अध्यक्ष बुढाले बताउनुभयो ।

समूहको दीर्घकालीन योजनामा चुरे क्षेत्रका खोल्सा तथा समथर भूभागलाई अम्रिसोखेतीयोग्य बनाउने लक्ष्य रहेको छ । कुचो बिक्रीबाट आएको रकम वन संरक्षणका विविध कार्यमा लगानी गरिएको छ । मेसवायर जडान, फलफूल र बाँसका नमूना प्लट विकास, उपभोक्ताका लागि आयआर्जनमूलक तालिम तथा कार्यक्रम सञ्चालन गर्दै वन संरक्षणलाई संस्थागत बनाइँदै आएको छ ।

विसं २०५८ मा स्थापना भएको सो सामुदायिक वन हाल तीन सय ९७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनसँग ८१६ उपभोक्ता आबद्ध छन् । आम्दानी, रोजगारी, संरक्षण र समुदायबीचको सहकार्यको सफल नमूना बनेको यो वन अन्य सामुदायिक वनका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको सामुदायिक वन समन्वय समितिकाका अध्यक्ष महेशदत्त जोशी बताउनुहुन्छ । रासस




भर्खरै