२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थाले



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।

सामुदायिक वन अहिले सुन्दर, हरियाली हुनुका साथै वन्यजन्तुको बासस्थानमा परिणत भएको सामुदायिक वनका सक्रिय उपभोक्ता कमलप्रसाद चौधरीले बताउनुभयो । उहाँका अनुसार केही वर्षअघिसम्म खुला मैदान, मिचाहा प्रजातिका बिरुवाले भरिएको र चरिचरनले क्षतिग्रस्त यो वन क्षेत्र अहिले साल, अस्ना, विजयसाल, हर्रो, बर्रो, अमलालगायत प्रजातिका बिरुवाले हराभरा देखिन्छ ।

“पहिले उजाड थियो, खुला चरिचरन नियन्त्रण गर्यौँं, मिचाहा प्रजातिका बिरुवा हटायौँ, मानव प्रवेश निषेध गर्यौ”, ६७ वर्षीय चौधरीले भन्नुभयो, “अहिले वन हेर्दै लोभलाग्दो भएको छ ।” उहाँका अनुसार वन संरक्षणसँगै हराएका वन्यजन्तु फिर्ता आउन थालेका छन् ।

“चितल, बँदेल, निलगाई, मयुर, वनकुखुरालगायत वन्यजन्तु वनमा फर्किएका छन्”, कोषाध्यक्ष कालुसिंह चौधरी भन्नुभयो, “चार दशक अघिसम्म वन क्षेत्रमा वन कुखुरा देखेका थिएनौँ, अहिले वनकुखुरा देखिनु उत्साहजनक परिवर्तनको सङ्केत हो ।” जङ्गली जनावरको चहलपहल बढेपछि पानीको व्यवस्थापनका लागि कृत्रिम पोखरी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक वनका उपभोक्ताले वन क्षेत्र संरक्षण गर्न गर्न पालैपालो डढेलो नियन्त्रण गर्नका लागि अग्नी रेखा निर्माण गर्ने, डढेलो लागेमा सबै मिलेर आगो निभाउने, वनमा नयाँ बिरुवा रोक्नेलगायत कार्य गरेकाले वन पुनः उत्पादनमा टेवा पुगेको कोषाध्यक्ष चौधरीले बताउनुभयो ।

वन संरक्षण भएसँगै उपभोक्ताले सहज रूपमा दाउँरा, घाँस, काठलगायत वनपैदावार उपभोग गर्न पाएका सामुदायिक वनका सचिव देवकी नेगीले बताउनुभयो ।

वन उपभोक्ता समूहका अध्यक्ष वीरबहादुर राजवंशीले सामुदायिक वन हराभरा हुनुमा उपभोक्ताको त्याग, समर्पण र वनप्रतिको गहिरो लगावका कारण सम्भव भएको बताउनुभयो । वन संरक्षणमा टेवा पुर्‍याउनका लागि उपभोक्ता समितिका पदाधिकारी, सल्लाहकार समिति, कर्मचारीलाई जिम्मेवारी तोकेर कार्य गरिँदै आइएको उहाँको भनाइ छ ।

झाँडी सरसफाइ, एक्ल्याउने, पतल्याउने, अग्नी रेखा निर्माण गर्ने, वनगस्तीलगायत कार्यको जिम्मेवारी बाँडफाँड गरेर प्रगति भएरनभएको बारेमा कार्यालयमा छलफल गरी विश्लेषण गरी सोही अनुरुप रणनीति बनाएर संरक्षणका थप गतिविधि गरिँदै आइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार कार्यविभाजनले उपभोक्तामा अपनत्व र सहभागिता वृद्धि हुनुका साथै वनस्पतिको वृद्धिदर र जैविक विविधताको संवर्द्धनमा टेवा पुगेको छ ।

“वन पुनःउत्पादनले हावा, पानी, जमिन र तापक्रमको सन्तुलन कायम राख्न सहयोग पु¥याएको छ”, अध्यक्ष राजवंशीले भन्नुभयो, “रुखबिरुवाले जमिन सम्हालेका छन् । पहिलो जस्तो वन क्षेत्रमा भू–क्षयको समस्या छैन, जैविक विविधता सुरक्षित भएको छ, रुखहरूले वर्षा गराउन सहयोग गर्ने भएकाले पोखरी तथा खोलामा पानी सुक्ने समस्या समाधान भएको छ ।”

वन पुनःउत्पादन कार्यबाट स्थानीयलाई वृक्षरोपण, हेरचाह, काठजन्य उत्पादन, वनलगायत क्षेत्रबाट आम्दानीको अवसर मिलेको उल्लेख गर्दै उहाँले सुदृढ वनले सौन्दर्य बढाउनुका साथै पर्यटकीय सम्भावनालाई बढाउने विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक वनले काठ, दाउँरा, घाँस, बिक्री गरेर आएको आम्दानीबाट समूहले दुई तले भवन, ‘मेशवायर’ जडान, प्रतिक्षालय निर्माण, बलुवा नदीमा पुल निर्माण, महादेव र वनदेवी मन्दिर निर्माण गरी स्थानीय पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सामुदायिक वनका सल्लाहकार समितिका संयोजक मेघबहादुर कँडेलले बताउनुभयो ।

उहाँका अनुसार सामाजिक विकासअन्तर्गत घुम्ती कोष, साना व्यवसाय, बेमौसमी तरकारीखेती, पशुपालन र विदेशमा गएका सदस्यलाई पुनःस्थापित गर्न वार्षिक शून्य दशमलव पाँच प्रतिशत ब्याजदरमा सहुलियत ऋण प्रदान गर्दै आइएको छ ।

“यस कार्यले महिला सशक्तीकरण, युवाको स्वरोजगार र विपन्न समुदायको जीवनस्तर सुधारमा योगदान पुर्‍याएको छ”, सल्लाहकार कँडेलले भन्नुभयो, “समूहले स्थानीय टोल समिति सशक्तीकरण, सूचना प्रवाह र सचेतनामूलक गतिविधिमार्फत उपभोक्तासँगको सम्बन्ध मजबुत बनाएको छ ।”

सामुदायिक वनको रूपान्तरण केवल वनको हरियालीको मात्र नभइ समुदायको सामूहिक चेतना, सहकार्य र दीर्घकालीन सोचको उपज रहेको बताउँदै उहाँले एउटा उजाड भूभाग आज जीवन, आशा र समृद्धिको हरित थलो बनेको उल्लेख गर्नुभयो ।

विसं २०६६ माघ २० गतेदेखि विधिवत् रूपमा दर्ता भएको यो सामुदायिक वन एक सय ९७ दशमलव ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा दुई सय ४९ उपभोक्ता आश्रित छन् भने वार्षिक आय रु ३० लाखको हाराहारीमा हुने गरेको छ । रासस