२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न बजेटमा ६० अर्ब व्यवस्था गरिएकाे छ,” अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडाैंः अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकारले बजेट मार्फत करिब ६० अर्ब रुपैयाँ खर्च गर्न लागेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रम मार्फत ५५ अर्ब देखि ६० अर्ब रुपैयाँ सम्म खर्च गर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री खतिवडाले सरकारले बजेटमार्फत कोरोनाका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न विभिन्न कार्यक्रमबाट राहतको व्यवस्था गरेको बताउनुभयो ।

आर्थिक क्रियाकलापलाई पूँजी क्षय हुन नदिन र उद्योगी व्यवसायिको मनोबल माथि उठाउन सामाजिक कार्यक्रम र राहतका क्षेत्रमा ठूलो आकारको बजेट छुट्याइएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले राहतको प्याकेज होमोजोनस नहुने र राहत नगदमा, छुटमा, प्रोत्साहनमा, सस्तो ब्याजमा दिइने ऋणमा, बीमा शुल्कमा दिइने छुट र कर छुटमा दिइएको बताउनुभयो । बजेटले रोजगार सिर्जना गर्ने, उद्योग व्यवसायलाई सुचारु गर्ने, र नयाँ लगानी बढाउने विषयमा सम्बोधन गरेको बताउनुभयो ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम मार्फत ३ अर्ब, विद्युत छुटमा ८ अर्ब, सहुलियतपूर्ण कर्जाका लागि १४ अर्ब, पुर्नकर्जाका लागि २० अर्ब रकम खर्च हुने बताउनुभयो । यस्तै कर छुट मार्फत साढे ६ अर्बको राहत मिल्ने र खाद्यान्न विक्री वितरणमा १० प्रतिशत छुट दिदा ५० करोड भन्दा बढी रकम खर्च हुने बताउनुभयो ।

बजेटमा ७ लाख भन्दा बढीलाई रोजगारी सिर्जना गर्ने गरी कार्यक्रमहरु समावेस गरिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम, साना किसान कर्जा कार्यक्रम, युवा स्वरोजगार, गरिवका लागि लघु उद्यम कार्यक्रम, वन पैदावार सम्बन्धी कार्यक्रम, गरिवी निवारण कोष, प्राविधिक व्यवसायीक तालिम, सीपमुलक कार्यक्रम लगायतबाट रोजगारी बढाउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

आन्तरिक उत्पादनलाई राजश्वको मुख्य आधार बनाउने र आयातित बस्तुमाथिको निर्भरतालाई कम गर्दै जाने नीति बजेटले लिएको बताउनुभयो । कोरोना भाइरसका कारण आन्तरिक आर्थिक क्रियाकलाप संकुचित भएको अवस्थामा थप करको बोझ नबढाइएको तर यथावत राखिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

यस्तै एक दर्जन वस्तुहरुको अन्तशुल्क घटाइएको समेत उहाँले बताउनुभयो । भन्सार तर्फ आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा फरक पारिएको उहाँले बताउनुभयो । तयारी वस्तु भन्दा कच्चा पदार्थको भन्सार दर एक तह कम गरिएकोे बताउनुभयो ।

पेट्रोलियम पदार्थ र सुनचाँदीको मूल्यलाई भने भारतसँगको मूल्यमा एकरुपता ल्याउनको लागि भन्सार दर बढाइएको बताउनुभयो । भन्सार दर बढाइएपनि पेट्रेलियम पदार्थको मूल्य तत्काल नबढ्ने उहाँले स्पस्ट पार्नुभयो ।

उहाँले पेट्रोलियम खपत कम गर्नका लागि विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको तर महँगो विद्युतीय गाडी आयात हुँदा दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा बाहिरिएकोले कर बढाइएको बताउनुभयो ।

उच्च आर्थिक वृद्धि गर्न लगानी बढाउनु पर्ने र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उहाँले बताउनुभयो । जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखी खर्चको प्रकृति बढेकाले आगामी आर्थिक वर्ष आर्थिक विकासलाई तिब्र पार्नुपर्ने चुनौति रहेको समेत उहाँले बताउनुभयो । त्यसका लागि छिटो प्रतिफल दिने, आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न हुने आयोजनाका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै अर्थतन्त्रमा दिर्घकालीन गेमचेन्जरको रुपमा रहेका आयोजनालाई पनि विस्तारै अगाडि बढाउने गरी बजेटले व्यवस्था गरेको बताउनुभयो ।