२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाँस्यकलाकारको गाइजात्रै प्रस्तुति: ‘भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि’



अ+ अ-

काठमाडौँ । आज गाईजात्रा पर्व । गाइजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यकलाकारहरु सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ–आफ्नो प्रस्तुति राखेका थिए ।

हाँस्य कलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बुद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए ।
‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’– जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरे ।

अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’

उनले आफूले प्रत्येक २२ वर्षदेखि गाइजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाइजात्रै प्रस्तुति दिएको उनले बताए ।

त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।

कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकतामात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरुलाई थाहा होस्,’– उनले भने ।

वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।
अहिले गाइजात्रा दैनिक रुपमा सडकमै भइरहेको बताए । उनले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे ।

‘जिउँदै भट्टीमा मान्छे लगाउनेको मिनाह हुन्छ केस ।
टिकटक बनाएर हाल्नेलाई छानीछानी थुन्ने देश ।
सरकारी कर्मचारीलाई घुस नखाउ नभनेर सिकाउन नसक्ने देश ।
सहकारी ठगलाई विदेशबाट झिकाउन नसक्ने देश ।
मलामीमा शंख बजाएर जन्तीको बाजा खोज्ने देश ।
गणतन्त्रको भत्ता खाएर सदनभित्र राजा खोज्ने देश ।’