२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल



अ+ अ-

ढोरपाटन, (बागलुङ) । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् ।

बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् ।

ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् ।

ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्रकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो ।

जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उहाँको तर्क छ । तालसम्म पुग्ने पदमार्ग बनाउन जरुरी रहेको उहाँको भनाइ छ । गोठालाको बासस्थानका रूपमा रहेको जल्पाताललाई पर्यटक उकाल्न पर्यटन बोर्डसँगै स्थानीय, प्रदेश र सङ्घ सरकारले पहल थाल्नुपर्ने उहाँको सुझाव छ ।

“गत वर्षसम्म बुकीपाटन आझेलमा थियो । प्रचारप्रसार र त्यहाँसम्म पुग्ने पदमार्ग लगायतका संरचना बनेपछि अहिले दैनिक एक सय बढी पर्यटक टीकाधारा, गर्पाछेडा पुग्छन्”, उहाँ भन्नुहुन्छ, “अब जल्पातालको पनि प्रचारप्रसार गरी पूर्वाधार निर्माण गनुपर्नेछ । पर्यटकको आगमनलाई बढाउनुपर्ने देखिन्छ । हामी स्थानीयका तर्फबाट गर्नुपर्ने जिम्मेवारी हामी पूरा गर्छौँ । राज्यले पनि त्यही अनुसारको कदम चाल्नुपर्छ ।”

जल्पातालसम्म पर्यटक उकाल्न पदमार्गको विकाससँगै सूचना बोर्डको अभाव छ । प्रवर्द्धन गर्न सक्ने हो भने कुमारी गन्तव्य भएकाले तालसम्म पुग्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने तनहुँबाट घुम्न पुग्नुभएका पत्रकार विनोद ढुङ्गाना बताउनुहुन्छ । “जल्पातालको दृश्यले देखेपछि लाग्छ स्वर्गको टुक्रा भनेको यहीँ होला”, उहाँले वर्णन गर्नुभयो ।

कोलाहलबाट परको नयाँ गन्तव्यमा पदयात्रा गर्न चाहने आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेको उहाँको भनाइ छ । तर, त्यसका लागि व्यवस्थित पदमार्ग र सूचना बोर्ड राख्नुपर्ने उहाँले बताउनुभयो । “ताल निकै मनमोहक छ । वरपरको सुन्दरताले धेरैलाई लोभ्याउँछ । ताललाई पनि थोरै व्यवस्थित गर्नुपर्ने छ । ताललाई घेरेको तीन दिशाको पहाड भूक्षयीकरण भएकाले निकट भविष्यमा खुम्चिने सम्भावना पनि उत्तिकै देखिन्छ”, ढुङ्गानाले भन्नुभयो, “पूर्वाधारको विकास, प्रवर्द्धनसँगै संरक्षणको आवश्यकता । बुकीपाटनसँगै जल्पाताल पनि पर्यटक आकर्षणको गन्तव्य बन्नेमा शङ्का छैन ।”

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठाउँठाउँमा सूचना बोर्ड राख्ने र पदमार्ग निर्माण गर्ने बताउनुहुन्छ । ढोरपाटन उपत्यकाबाट धेरै टाढा रहेको हुँदा नगरपालिकाको स्रोतले मात्र नपुग्ने हुँदा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर पूर्वधार निर्माण गर्ने उहाँको भनाइ छ । जल्पातालसहित ढोरपाटनका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन महोत्सव गर्ने योजना बनाएको कायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ताल अहिलेसम्म ओझेलमा छ, फाट्टफुट्ट ढोरपाटन वरपरका पर्यटकहरू कहिलकाहीँ पुग्ने गरे पनि अरु ठाउँबाट खासै आउन सकेका छैनन् । आउन् पनि कसरी प्रचार नै छैन । हामीहरूले अब जल्पातालसँग बुकीपाटन क्षेत्रको पनि प्रवर्द्धन गर्नेगरी योजना बनाएका छौँ । यो वर्ष पर्यटकका लागि सूचना बोर्ड र केही ठाउँमा पदमार्ग बनाउँछौँ । अधूरा कामका लागि माथिल्लो निकायसँग सहकार्य गर्नेछौँ ।” रासस