१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानवमीका दिन पनि दुर्गा भवानीको ‘खोइँछ’ भरिँदै



अ+ अ-

महोत्तरी। मधेस प्रदेशको महोत्तरीसहितका जिल्लामा शारदीय नवरात्र (बडादसैँ) पर्वको अवसरमा देवी दुर्गाको ‘खोइँछ’ (पोल्टा) भरिँदैछ ।

फूलपातीका दिनको सन्ध्या आरतीसँगै देवीको ‘खोइँछ’ भर्नेक्रम सुरु भएको हो । आआफ्नो भाकलअनुसार शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइँछ’ भर्न श्रद्धालुको भीड लागिरहेको छ ।

आज नवरात्रको अन्तिम दिन महानवमीको दिन पनि देवीको ‘खोइँछ’ भर्न श्रद्धालु लामबद्ध छन् । यहाँ सोमबार महासप्तमीका दिन बनाइएका माटाका प्रतिमाको प्राणप्रतिष्ठा गरिएसँगै देवी दर्शनका लागि शक्तिपीठ खुला गरिएका छन् ।

दर्शन खुला गरिएसँगै फूलपातीका दिनको सन्ध्या आरती सकेर ‘खोइँछ’ भर्न थालिएको हो । योक्रम आज महानवमीको मध्यरातसम्म जारी रहनेछ । देवी दुर्गालाई विभिन्न समयमा गरिएको भाकलस्वरुप ‘खोइँछ’ भर्ने चलन बसेको मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानि विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।

मैथिल बोलीचालीमा दशहरा भनिने यो पर्वको सप्तमी तिथिमा देवी शक्तिपिठ, मन्दिर र नवस्थापित प्रतिमास्थलमा फूलपाती राखिएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइँछ’ भर्नेक्रम थालिन्छ । खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलपूmल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइँछ’ भर्ने भन्ने गरिन्छ ।

हाल महोत्तरीको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बर्दिवास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिवास–१ र १४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदेवी मन्दिरमा ‘खोइँछ’ भर्न भीड लागेको छ ।

‘खोइँछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको  सप्तमीदेखि नवमी तिथिभरि ‘खोइँछ’ भरिने परम्परा छ । मटिहानीस्थित दुर्गा मन्दिरमा स्थापित जिल्लाका देवी प्रतिमामा नेपाली मात्र नभई सीमापारी भारतको मधुवनी जिल्लाका भक्तहरू प्नि ‘खोइँछ’ भर्न लामबद्ध छन् ।

‘खोइँछ’ भरिदा धनधान्य, आरोग्यतासहित इच्छित मनोकामना पूरा हुने मैथिल जनविश्वास रहेको सोनामाईस्थानका पुजारी कामेश्वर झा बताउनुहुन्छ ।

‘खोइँछ’  भरिनेक्रमसँगै  बडादसैंँ पर्वको महासप्तमी पर्वका दिनदेखि नै  यी ठाउँ (देवीस्थल)मा बलि दिनेक्रम सुरु भएको छ ।फूलपाती  विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि आज नवमीमा पनि जारी छ । जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा मधेशसका जिल्लाका साथै र छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइँछ’ भर्न पुगेका छन् ।